एमाले मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा ४२ जनसभा र १०० भेला – Nepalboli

एमाले मध्यपहाडी राजमार्ग केन्द्रित अभियानमा ४२ जनसभा र १०० भेला

   ८ पुष २०८०, आईतवार  

नेकपा एमालेले मङ्सिर १४ देखि पुस १ सम्म गरेको मध्यपहाडी राजमार्गको यात्राको क्रममा ४२ वटा ठुला सभा र सयभन्दा बढी संक्षिप्त सभा गरेको जनाएको छ । आइतबार संकल्प यात्राबारे पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमालेले तीन साता लामो यात्राका क्रममा खासगरी मध्य पहाडको आर्थिक राजनीतिक, सामाजिक तथा सांस्कृतिक समस्या बुझ्ने मौका पाएको जनाएको छ ।

बैतडीको झुलाघाटबाट सुरु भएर पाँचथरका चिवाभञ्ज्याङ पुगेर समापन भएको उक्त यात्रामा एमालेले गोठाला पानी, अमरगढी, सिलगढी, साँफेबगर, मङ्गलसेन, राकम–कर्णाली, दैलेख बजार, सुर्खेत, सल्ली बजार, सिम्ता, छेडागाड, रिम्ना, रुकुमकोट, लुकुम, बुर्तिबाङ, वामीटक्सार, गलकोट, बागलुङ, कुस्मा, हेम्जा, अमरसिंह चोक, तालचोक, सुन्दरबजार, पालुङटार, आरुघाट, बट्टार, छहरे, बाहुनेपाटी, कुन्ताबेसी, खाडिचौर, चरिकोट, मन्थली, खुर्कोट, हर्कपुर, दिक्तेल, पङ्खु, अन्नपूर्ण, भोजपुर, वसन्तपुर, सक्रान्तिबजार, फिदिम, च्याङ्थापु लगायतका स्थानमा ठुला सभा गरेको थियो । त्यस्तै १०० भन्दा बढी संक्षिप्त सभा, जनभेला र भेटघाटहरू भएको एमालेले जनाएको छ ।

यात्राका क्रममा मध्य पहाडमा सबभन्दा ठुलो समस्या बसाइसराइ रहेको निष्कर्ष निकालेको एमालेले ती क्षेत्रको विकास निर्माणका लागि सातवटा निष्कर्षसहित सङ्कल्प गरेको छ । एमालेले नेपाली जनता लोकतान्त्रिक गणतन्त्र र समाजवादका पक्षमा रहेको निष्कर्ष निकाल्दै सामाजिक न्याय, राष्ट्रिय एकता र सामाजिक सद्भावका पक्षमा रहेको जनाएको छ ।

‘एमालेले आवश्यक परे जनपरिचालनको बाटो अवलम्बन गर्ने समेत सङ्केत गरेको छ । साथै एमालेले यात्राका क्रममा जनताले राखेका मागलाई पुरा गर्नेतिर लाग्ने समेत जनाएको छ ।

साथै आफूले देखेका र स्थानीयबाट अभिव्यक्त भएका सम्भावना र चुनौतीका आधारमा एमालेले मध्य पहाडको विकास र समृद्धि सम्बन्धी ठोस परियोजना सार्वजनिक गर्ने पनि जनाएको छ । ‘यसक्रममा हामी विज्ञहरू, जनप्रतिनिधिहरू र अन्य आवश्यक पक्षसँग सघन छलफल गर्नेछौँ, गहन अध्ययन गर्नेछौँ । हाम्रो सङ्कल्प छ– हामी पहाडी भूभागलाई समृद्धिको केन्द्र बनाउने छौँ’, पत्रकार सम्मेलनमा यात्राबारे संक्षिप्त जानकारीमा एमालेले भनेको छ ।

 

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै