यसपटकको जहाज खरिदमा कुनै त्रुटि र विवाद नहोस् – प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले यसपटकको जहाज खरिद प्रक्रियामा कुनै पनि प्रकारको त्रुटि र विवाद हुने काम नगर्न र पारदर्शी ढंगले अगाडि बढ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयलाई निर्देशन दिएका छन्। आइतबार दिउँसो सिंहदरबारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र खानेपानी मन्त्रालयको संयुक्त ब्रिफिङ र छलफलमा बोल्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन्।
उनले भने, ‘नेपालमा जहाज खरिद प्रकरणमा जहिले पनि प्रश्न उठ्ने गरेको छ। यसपटक यस्तो गल्ती नहोस्। जहाज खरिद प्रक्रिया शतप्रतिशत सही र पारदर्शी हुनुपर्छ। यसपटकको खरिद प्रक्रियामा विगतका जस्ता कुनै प्रश्न नउठून्, कुनै त्रुटि नहोउन्।’
कतिपय नीति नियमहरू पर्यटकमैत्री नभएको र तिनीहरूलाई बदलेर भए पनि पर्यटकका लागि सहज वातावरण बनाउनेतिर सोच्नुपर्ने उनको भनाइ थियो। उनले भने, ‘तपाईंहरूले प्रस्ताव ल्याउनुस्, त्यस्ता निषेधित क्षेत्र खुला गरेर पर्यटक आकर्षित गरौं। पर्यटकीय क्षेत्रहरूमा रात्रिकालीन सेवा पनि सहज गरिदिनुपर्छ। यसमा पनि सरकार लचिलो हुनुपर्छ।’
उनले अहिले देशमा नकारात्मकता मात्र बढेको बताए। जतिसुकै राम्रो काम गरे पनि आलोचना मात्रै गर्ने संस्कृति बढेको भन्दै प्रधानमन्त्री प्रचण्डले राम्रो नदेख्ने रोग बढ्दो रहेको बताए। उनले भने, ‘राम्रो नदेख्ने रोग बढ्दो छ। दर्शक–स्रोता पनि नकारात्मक कुरा र गालीमा रमाउनेजस्ता भएको छ। यसको प्रत्यक्ष फाइदा कुनै पृष्ठभूमि नभएका, योगदान नभएका, लक्ष्य नभएका अराजनीतिक शक्तिहरूले लिन खोज्दैछन्। यो कुरालाई हामीले बदल्नुपर्छ।’