माओवादीले फागुन पहिलो साता विधान सम्मेलन गर्ने – Nepalboli

माओवादीले फागुन पहिलो साता विधान सम्मेलन गर्ने

   २०८० पुष ५, बिहीबार  

नेकपा माओवादी केन्द्रले पार्टीको विधान सम्मेलन फागुनको पहिलो साता गर्ने निर्णय गरेको छ। माओवादीले विधानको मस्यौदा तयार पार्न ७ सदस्यीय समिति समेत गठन गरेको छ।बिहीबार बिहान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको पार्टीका पदाधिकारीको बैठकले फागुन विधान सम्मेलनबारे निर्णय गरेको हो।

उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले बैठकले विधान सम्मेलनको मिति तय गर्नुका साथै विधानको मस्यौदा तयार पार्न ७ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको बताए । ७ सदस्यीय समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवहरु गणेश शाह र राम कार्की रहेका छन्।

विधान मस्यौदा समितिले आज (बिहीबार) बाट नै काम सुरु गरी १५ दिनभित्र मस्यौदा तयार गरिसक्ने प्रवक्ता सापकोटाले बताए। सापकोटका अनुसार विधान सम्मेलनअघि केन्द्रीय समिति बैठक बस्ने र विधान मस्यौदा समितिले तयार पारेको मस्यौदालाई केन्द्रीय समितिले अनुमोदन गरेपछि विधान सम्मेलनमा प्रस्तुत गरिने छ।

पार्टी पदाधिकारी बैठकले देशभर नै सञ्चालित पार्टीको ‘माओवादी विशेष रुपान्तरण अभियान’ सफल भएको भिन्न रूपमा अभियानलाई निरन्तरता दिनुपर्ने निष्कर्ष निकालेको सापकोटाले जानकारी दिए। जनपरिचालनसहित देशैभरि पालिकास्तरमा १६ पुसमा रूपान्तरण अभियान समापन गरिने उनले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै