चिसोबाट बच्न २४ घण्टे सजगता अपनाउन मौसम विभागको चेतावनी
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले बढ्दो चिसोलाई ध्यान दिँदै सजगताका लागि २४ घण्टे चेतावनी जारी गरेको छ। महाशाखाले आज साँझ ६ बजे ‘आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श’ जारी गरी तापक्रम घट्दो क्रममा रहेकाले जाडोको असरबाट बच्न सुझाव दिएको हो।
महाशाखाले भनेको छ– देशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। देशभरिको तापक्रममा केही घट्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन सबैमा अनुरोध छ।
मौसम महाशाखाका अनुसार यतिबेला पहाडी भेगमा आंशिक बदली (आधाजति आकाशमा बादल) रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा (कतै कतै मात्र बादल) छ भने तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।
महाशाखाको सन्ध्याकालीन बुलेटिनअनुसार आज राति पहाडी क्षेत्रमा आंशिक बदली रही देशका बाँकी ठाउँमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ।
महाशाखाका अनुसार मंगलबार दिउँसो देशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा देशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।
मंगलबार राति देशका पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना रहेको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ।