जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै – Nepalboli

जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै

   २०८० कार्तिक २२, बुधबार  

भारत सरकारको सहयोगमा निर्माण भइरहेको जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै सुरू हुने भएको छ। नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाका अनुसार रेल विभागले सूचना जारी गर्दै महोत्तरीको भङ्गहाबाट बर्दिबाससम्म बाँकी रेलमार्ग निर्माण हुन लागेको छ। रेलमार्गमा पर्ने जग्गामा लगाइएको बालीनाली आगामी मङ्सिर १५ गतेभित्र भित्र्याउन विभागले आग्रह गरेको छ।

विभागले भङ्गहा (विजलपुरा) –बर्दिबास रेलमार्ग उपखण्ड एवं पूर्वपश्चिम विद्युतीय रेलमार्ग खण्डमा अधिग्रहण गरिएको जग्गाको मुआब्जा वितरणको काम अन्तिम चरणमा रहेको र सो खण्डमा रेलमार्गको निर्माण कार्य सुरु हुन लागेकाले अधिग्रहण गरिएको जग्गामा लगाइएको बालीनाली भित्र्याउन आग्रह गरेको हो।

मङ्सिर १५ गतेपछि बालीनाली लगाएमा किसानलाई त्यसको क्षतिपूर्ति नदिने विभागले जनाएको छ। भारतको जयनगरबाट महोत्तरीको बर्दिबासम्म रेल सञ्चालन गर्न तीन चरणमा काम भइरहेको छ। पहिलो चरणमा जयनगरबाट कुर्थासम्म तथा दोस्रो चरणमा कुर्थाबाट भङ्गहासम्म निर्माण पूरा भई रेल सेवा सञ्चालनमा आइसकेको छ। तेस्रो चरणमा भङ्गहाबाट बर्दिबाससम्म मार्ग निर्माण हुन लागेको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै