भारतीय सहयोगको उच्च प्रभाव सामुदायिक विकास परियोजनाको २० बर्ष पुुरा, ५५० ओटा परियोजनामा भारतीय सहयोग
स्थानीय तहमा कार्यरत नेपाली संस्थामार्फत भारतको अनुदान सहयोगमा साना विकास परियोजनाको कार्यान्वयन गर्न नेपाल सरकार र भारत सरकारबीचको द्विपक्षीय सम्झौताको २० बर्ष पुरा भएको छ । विसं २०६० कार्तिक २१ गते उच्च प्रभाव सामुदायिक विकास परियोजनाको सुरुवात गरिएको थियो जसलाई पहिले साना विकास परियोजनाको नामले चिनिन्थ्यो ।
नेपाल सरकारको प्राथमिकतामा रहेका क्षेत्रहरुमा पूर्वाधार निर्माणमा भारतीय अनुदानको सहयोगको यो कार्यक्रम अन्र्तगत हाल सम्म नेपालमा ५५० परियोजनामा भारतीय अनुदान सहयोग आएको छ । यीमध्ये ४८० वटा परियोजनाहरु सम्पन्न भइसकेका छन् भने बाँकी निर्माणाधीन अवस्थामा रहेका छन् । विगत बीस वर्षको अवधिमा नेपाल–भारत विकास सहकार्य अन्तर्गत नेपालमा हरेक पन्ध्र दिनमा एकभन्दा बढी नयाँ परियोजना वा हरेक वर्ष २७ वटा भन्दा बढी परियोजना कार्यान्वयन हुने गरेको छ ।
नेपालका लागी भारतीय राजदूत नवीन श्रीवास्तवले विगत बीस वर्षमा उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यान्वयनको यो यात्रा निकै सफल रहेको बताएका छन । सन् २००३ यता शिक्षा, स्वास्थ्य, सडक तथा पुल, नदी प्रशिक्षण, खानेपानी, विद्युत, सिंचाइ, संस्कृति, समाज कल्याण जस्ता विविध क्षेत्रमा करिब ५५० वटा परियोजना यस ढाँचा अन्तर्गत अघि बढेकोमा सन्तोष व्यक्त गर्दै राजदूत श्रीवास्तवले यसले मानिसहरुको जीवनमा प्रत्यक्ष प्रभाव पारेको बताए ।
राजदूत श्रीवास्तवले नेपाल सरकारको सहयोगका लागि धन्यवाद व्यक्त गर्दै भविष्यमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनलाई अझ व्यापक र सुदृढ बनाउने प्रतिबद्घता व्यक्त गरे । यो कार्यक्रम अन्र्तगत कोशी प्रदेशमा ८४ वटा परियोजना, मधेस प्रदेशमा ८१ वटा परियोजना, बाग्मती प्रदेशमा १०५ वटा परियोजना, गण्डकी प्रदेशमा ६१ वटा परियोजना, लुम्बिनी प्रदेशमा ६० वटा परियोजना, कर्णाली प्रदेशमा १४ वटा परियोजना र सुदूरपश्चिम प्रदेशमा ४१ वटा परियोजनाहरु सञ्चालित छन् ।
अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा विकास पूर्वाधार निर्माणमा निरन्तर सहयोग गरेकोमा भारतलाई धन्यवाद व्यक्त गरेका छन । उनले उच्च प्रभाव सामुदायिक विकास परियोजना भारत र नेपालबीचको विकास साझेदारीको आधारशिला भएको पनि बताएका छन । नेपाली जनताको जीविकोपार्जनमा प्रभाव पार्ने यी परियोजनाको कार्यान्वयनका लागि नेपाल सरकारको पूर्ण सहयोग रहने अर्थमन्त्री महतले सुनिश्चितता दिलाए ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले यस्ता परियोजनाको मुख्य पक्ष भनेकै छोटो समयमा निर्माण सम्पन्न भई प्रतिफल दिने र स्थानीय तहको आर्थिक विकासमा यसले खेल्ने भूमिका रहेको बताए । उनले पनि भारतको सहयोगका लागि धन्यवाद व्यक्त गरे । उनले उच्च प्रभाव सामुदायिक विकास परियोजना भलै आकारमा सानो भए पनि आम नेपाली जनताको जीवनमा ठूलो प्रभाव पारेको र समुदायमा परिवर्तन ल्याएकोले यसलाई उच्च प्रभावकारी परियोजना भन्न उपयुक्त हुने बताए ।
त्यस्तै, प्रत्येक वर्ष भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको उपलक्ष्यमा भारत सरकारले स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संस्थाहरुलाई एम्बुलेन्स तथा स्कुल बस उपहारस्वरुप प्रदान गर्दै आएको छ । हालसम्म नेपालका विभिन्न भागका लाभार्थीहरुलाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ ।
नेपालमा सञ्चालित उच्च प्रभाव सामुदायिक विकास परियोजनाको सफल कार्यान्वयनको २० वर्ष पुगेको उपलक्ष्य मै मंगलवार भारतीय राजदूतावासले भारत सरकारको अनुदान सहयोगमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निर्मित मंगलादेवी बर्थिङ (प्रसुति) सेन्टर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रतिनिधिहरुलाई हस्तान्तरण गर्यो ।
नेपाल सरकारका माननीय अर्थमन्त्री डा प्रकाशशरण महत, माननीय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री श्रीमती अनिता देवी तथा नेपालका लागि भारतीय राजदूत श्री नवीन श्रीवास्तवले संयुक्त रुपमा उक्त बर्थिङ सेन्टर हस्तान्तरण गर्नुभयो । उक्त समारोहमा राजनीतिक प्रतिनिधि, नेपाल सरकारका अधिकारी, समाजसेवी तथा स्थानीय समुदायका अगुवाहरुको पनि सहभागीता रहेको थियो ।
सोही अवसरमा भारतीय अनुदान सहयोग अन्तर्गत नेपालका बैतडी र मुस्ताङ्ग जिल्लामा कूल अनुमानित लागत नेरु १३ करोड लाग्ने थप तीनवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माणका लागि सम्झौतापत्रमा हस्ताक्षर गरियो ।