सामुदायिक वन क्षेत्रका ३५ रूख काटेपछि वडाध्यक्षसहित चार जना पक्राउ

दुई सामुदायिक वन क्षेत्रमा मनोमानी ढंगले रूख काटेको उजुरी परेपछि रूकुम पश्चिममा वडाध्यक्षसहित चारजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा चौरजहारी नगरपालिका– ११ का वडाध्यक्ष तुल्से ओली र तीन जना स्थानीय छन् ।
डिभिजन वन कार्यालय रूकुम पश्चिमका निमित्त कार्यालय प्रमुख शेरबहादुर परियारले वडाध्यक्ष ओलीसहित ५१ वर्षीय कुले नेपाली, २६ वर्षीय विशाल केसी (विजय) र ५१ बर्षीय दिलबहादुर शाहलाई पक्राउ गरिएको बताए ।
वडाध्यक्ष ओलीलाई मंगलबार, नेपाली र केसीलाई सोमबार र शाहलाई भदौ २९ गते नियन्त्रणमा लिइएको थियो।
चौरजहारी नगरपालिका–११ स्थित जनकल्याण सामुदायिक वन र सोही स्थानमा अवस्थित सर्केना सामुदायिक वन क्षेत्रको ३५ वटा सल्लोको रूख मनपरी फडानी गरेको आरोप र उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको परियारले जानकारी दिए ।
उनीहरूविरूद्ध साउनमै पक्राउ पुर्जी जारी भएको उनले बताए। पक्राउ पुर्जी जारी भएपछि चारै जना फरार थिए।
पक्राउ परेकाहरूलाई बुधबार म्याद थपका लागि अदालत पठाइएने डिभिजन वन कार्यालय रूकुम पश्चिमका निमित्त कार्यालय प्रमुख परियारले बताए ।