बाँकेको राप्तीसोनारी गाउँपालिकाद्धारा ‘एक वडा, एक बर्थिङ सेन्टर’ संचालनमा – Nepalboli

बाँकेको राप्तीसोनारी गाउँपालिकाद्धारा ‘एक वडा, एक बर्थिङ सेन्टर’ संचालनमा

   २०८० आश्विन ९, मंगलवार  

बाँकेको राप्तीसोनारी गाउँपालिकाले आपनो मातहातको ९ वडा मध्ये सात ओटामा प्रसुति गृह (बर्थिङ सेन्टर) संचालनमा ल्याएको छ । बाकी दुुई वडामा पनि चाडै नै प्रसुति गृह (बर्थिङ सेन्टर) संचालनमा ल्याउने गरि कामहरु भईरहेको छ ।  घरमा हुने सुत्केरी दरलाई शून्यमा झार्न यो गाउपालिकाले सबै वडामा प्रसुति गृह (बर्थिङ सेन्टर) सञ्चालनमा ल्याउने निती अख्तीयार गरेको छ ।

सुत्केरी हुन सदरमुकाम नेपालगञ्ज वा अन्य छिमेकी स्थानीय तहमा पुग्नुपर्ने बाध्यताको अन्त्य गर्न गाउँपालिकाको नौवटै वडामा प्रसुती गृह सञ्चालनको तयारी भइरहेको गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताए ।

‘गाउँपालिकाले सबै वडामा वर्थिङ सेन्टर सञ्चालनको नीति लिएको छ’, उनले भने, ‘आगामी आर्थिक वर्षभित्र एक वडा एक बर्थिङ सेन्टर पुर्णरुपमा सञ्चालन गरेर घरमा हुने सुत्केरी दरलाई शून्यमा झार्ने हाम्रो उद्देश्य छ ।’

अध्यक्ष पौडेलले राप्ती सोनारी गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएर काम गरिरहेको बताए । गाउँपालिकाले वडा नम्बर ६ कमैयाडाँडामा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा नवनिर्मित प्रसूति गृह भवनको उद्घाटन गरी हालै प्रसूति सेवा सञ्चालनमा आएको छ ।

योसँगै राप्ती सोनारी गाउँपालिकाका सात वडामा प्रसुती गृह सञ्चालनमा आएका छन् । कुसुम, कचनापुर, बैजापुर, विनौना, फत्तेपुर र ढकेरीमा यसअघि नै प्रसुती गृह सञ्चालनमा आइसकेका छन् ।

अब यो आर्थिक वर्षमै बाकी दुुई वडामा पनि प्रसुती गृह सञ्चालनमा ल्याइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै