सर्लाही, पर्सा सहितका जिल्लामा भईरहेको घटनाबारे नयाँ ढंगले निर्णय लिने गृहकार्यमा गृहमन्त्री

गएको ४ दिन देखि सर्लाहीमा लागेको कर्फ्यु र पर्सा सहित अन्य मधेशका जिल्लामा र्भईरहेको घटना वारेमा सरकारले नयां निर्णय लिन लागेको गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन । प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा सकेसम्म प्रशासनिक निर्णय लिन नपरोस् भनेर सरकार लागिरहेको तर अवस्था बिग्रिँदै गईरहेकाले सरकारले नयाँ ढंगले निर्णय लिन लागेको गृहमन्त्री श्रेष्ठले बताएका हुन् ।
सर्लाही, पर्सा लगायतका जिल्लामा पछिल्लो दिनमा भइरहेका साम्प्रदायिक घटनाबारे सरकार गम्भीर रहेको र त्यहाँ चिन्ताजनाक घटना भइरहेको गृहमन्त्रीको भनाइ थियो ।
आइतबार बिहान सर्लाहीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको सहभागितामा बैठक बसेको र त्यसमाथि सरकारले गम्भीरतापूर्वक लिइरहेको गृहमन्त्रीको भनाइ थियो । प्रशासनिक रूपमा निर्णय गर्न पनि गम्भीर छौं । यी घटनाबारे गम्भीर छौं, दृढ भएर जान्छौं, उनले भने ।
सर्लाहीले सदरमुकाम मलंगवामा जारी गरेको अनिश्चितकालीन कर्फ्युलाई आज चौथो दिन पनि निरन्तरता दिएको छ। गएको बिहीबार रातिदेखि मलंगवामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो।
विगत चार दिनदेखिको निरन्तरको कर्फ्युले मलंगवा क्षेत्रको जनजीवन प्रभावित बनेको छ। कर्फ्युको कारण सदरमुकाम मलंगवा विगत चार दिनदेखि सुनसान छ । गएको बिहीबार साँझ गणेश पूजाको मूर्ति विसर्जन गर्ने क्रममा मलंगवा-३ मा दुई समूहबीच झडप भएपछि थप अप्रिय घटना नहोस् भनेर स्थानीय प्रशासनले मलंगवामा अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरेको हो। झडपमा परेर ८ जना घाइते भएका छन्। उनीहरुमध्ये एक जनाको अवस्था गम्भीर छ। उक्त घटनाको पक्ष विपक्षमा मधेशका पर्सा सहितका अन्य जिल्लामा पनि विरोध कार्यक्रमहरु हुन थालेका छन ।
सुरुमा प्रशासनिक निर्णय गर्दा समस्या हुन्छ कि भनेर कुरेको तर अब भने प्रशासनिक निर्णय गर्ने विषयमा छलफल भइरहेको गृहमन्त्रीको भनाइ थियो । नेपाल बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक मुलुक भएको तर त्यसमा आँच पुर्याउने र खलल पार्ने कार्य भइरहेको भन्दै त्यसप्रति सरकार गम्भीर रहेको उनको भनाइ थियो ।
कोसी प्रदेशमा पनि सुरक्षा संवेदनशीलता रहेको गृहमन्त्री श्रेष्ठको भनाइ थियो । उनले सुरक्षा संवेदनशीलता बुझ्नका लागि आइतबार कोशी प्रदेश जान लागेको जानकारी दिए ।
यसअघि राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवर र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले पनि मधेस प्रदेशलगायतमा साम्प्रदायिक सद्भावमा खलल पारेर सुरक्षा चुनौती थप्ने कार्य भइरहेको बताएका थिए । कोसी प्रदेशमा पनि पहिचानका मुद्दाले समस्या ल्याएको बताएका थिए । समितिको बैठकमा एमालेका रघुजी पन्त, लोसपाका सर्वेन्द्रनाथ शुक्लले मधेस प्रदेशमा साम्प्रदायिक घटना बढेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।