काठमाडौ महानगरमा घरधनीहरुको निवेदनका चाङ – Nepalboli

काठमाडौ महानगरमा घरधनीहरुको निवेदनका चाङ

   ६ आश्विन २०८०, शनिबार  

चालु आर्थिक वर्ष २०८०-८१ को दुई महिनामा काठमाडौ महानगरपालिमा २८ जना घरधनीले निवेदन दिएका छन् । काठमाडौँ महानगरपालिकाका निर्देशक सुमित्रा लामिछानेका अनुसार गत आर्थिक वर्ष २०७९-८० मा ६६ जना घरधनीले महानगरमा निवेदन दिएका थिए । तीमध्ये ५० वटाको महानगर न्यायिक समितिबाट फैसला भइसकेको छ भने १६ वटा मुद्दाको किनारा लाग्न सकेको छैन । महानगरमा निवेदन दिने अधिकाशं घरधनीहरुले घर भाडा खाली, निर्माण रोक्का, अंश, छलफल गराई पाऊँ, रकम फिर्ता, करार कार्यान्वयन लगायत मुद्दा छन् ।

कोरोना अघि काठमाडौँ महानरमा घर खाली वा सटर खाली गराउन बर्षमा १०-१५ वटा मुद्दा पर्ने गरेकोमा पछिल्लो समय बढ्दै गएको महानगरले देखाएको छ । “व्यापार व्यवसाय राम्रो हुँदा खासै समस्या हुँदैन थियो । सबै ठिकठाक चलेको थियो । घरघनी र व्यवसायबिच लफडा हुँदा वार्षिक १०-१५ वटाभन्दा बढी घर खाली गराई पाऊँ भनेर निवेदन आउँदैन थिए,” महानगरका निर्देशक लामीछानेले भने, “कोराना महामारीदेखि अहिलेसम्म निरन्तर व्यापार व्यवसाय गरेर बसेका सम्पर्कमा नहुँदा घर वा सटर खाली गराइदिन प¥यो भनेर वर्षमा एक सयभन्दा बढी निवेदन आउन थालेका छन् ।” उनले घरधनीको आफ्नै घर भए पनि खोल्न नपाउने व्यवस्था भएकाले महानगरमा निवेदन दिएर सहजीकरण गरिदिन आग्रह गर्ने गरेको बताए ।

आर्थिक वर्ष २०७५-७६ मा कुल २० वटा निवेदन परेकोमा आर्थिक वर्ष २०७६-७७ मा ६८ वटा निवेदन परेका थिए । यस्तै आर्थिक वर्ष २०७७-७८ मा कुल १५९ वटा निवेदन परेकोमा आर्थिक वर्ष २०७८-७९ मा १५३ वटा निवेदन परेको महानगरले जनाएको छ ।

व्यापार व्यवसाय फस्टाउन नसक्दा बैङ्कको ऋण र घरधनीलाई भाडा तिर्न नसक्दा व्यापारी सम्पर्कविहीन हुने गरेका हुन् । यसरी धेरैजसो सहकारी, स्कुल, सुन पसल, किराना पसल, टेलरिङ, मदिरा पसललगायत चलाएर व्यापार व्यवसाय गर्ने रहेको महानगरले जनाएको छ ।

घर बहाल व्यवस्था निर्देशिका २०७९ अनुसार घरधनीले घर खाली गराउन वडा कार्यालयमा निवेदन दिनुपर्ने व्यवस्था छ । घरबहाल लिने व्यक्ति तीन महिनासम्म बहाल नदिएर बेपत्ता भएमा घरधनी प्रक्रियामा अघि बढ्न पाउँछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै