सरकार र शिक्षकबिच आज औपचारिक वार्ता हुदै
आन्दोलनरत विद्यालय शिक्षक र सरकारबिच शुक्रबार औपचारिक वार्ता हुने भएको छ। बिहीबार साँझ भएको छलफलमा सरकारले आन्दोलनरत शिक्षकका सङ्घ संस्थालाई वार्ताका लागि औपचारिक पत्र पठाउने र शुक्रबार बिहान ९ बजे वार्ता गर्ने सहमति भएको हो।
बिहीबार दुई चरणमा छलफल भए पनि कुनै ठोस सहमति भने भएको छैन। पहिलो चरणमा बिहान गृह मन्त्रालयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासङ्घका प्रतिनिधिबिच वार्ता भएको थियो।
त्यतिखेर आन्दोलनलाई कसरी संयमित र शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने विषयमा छलफल भएको थियो। बिहीबार साँझ नै फेरि उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, अर्थमन्त्री डा। प्रकाशशरण महत, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई तथा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री धनराज गुरुङ र महासङ्घका पदाधिकारीबिच वार्ता भएको थियो।
छलफलमा सहभागी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले धेरै विषय उठान भएको तर ठोस सहमतिको खाका नबनेको बताउनुभयो। उहाँका अनुसार कतिपय संविधानसँग सम्बन्धित छन् र कतिपय ऐन र नियमावलीबाट सम्बोधन गर्न सकिने छन्। ती विषयमा संसद्मा संशोधन गर्न सकिन्छ तर स्थानीय तहसँग सम्बन्धित विषय संविधानसँग जोेडिएकाले त्यस विषयमा समीक्षा गर्न सकिए पनि अरू सहमति हुन नसक्ने उहाँले बताउनुभयो।
शिक्षकका विषय सरकारका तर्फबाट भोलि टुङ्ग्याउन पहल हुने र त्यो शिक्षक प्रतिनिधिहरूमा निर्भर हुने पनि उहाँले बताउनुभयो। सरकारले मुलुकको अर्थतन्त्रले धान्ने र संविधानको दायराभित्र रहेर माग पूरा गर्न सरकार तयार रहेको बारेमा जानकारी गराएको थियो तर महासङ्घका प्रतिनिधिले शिक्षा विधेयकमा समावेश गर्नुपर्ने भनेर उठाएका १७ बुँदे माग प्रस्तुत गरेका थिए। साँझ ७ बजेदेखि भएको छलफल साढे नौ बजेसम्म चलेको थियो।
संसद्मा दर्ता भएको विद्यालय शिक्षालाई संशोधन तथा एकीकृतसम्बन्धी विधेयकमा समावेश गरिएका प्रावधानप्रति असहमति जनाउँदै सार्वजनिक विद्यालयका शिक्षक बुधबारदेखि राजधानीकेन्द्रित आन्दोलनमा उत्रेका हुन्।