नेपाली कांग्रेस केन्द्रिय समिति बैठक अघि शेखर पक्षद्धारा सरकारको काम बारे समिकक्षा
बिहिवार बस्ने नेपाली कांग्रेस केन्द्रिय समिति बैठक अघि पार्टीको ईतर पक्ष भनेर चिनिने डा शेखर कोईराला समुहको बैठकमा काग्रेस सहितको सरकारको वारेमा समिकक्षा भएको छ । यो पक्ष पछिल्लो केहि समय यता वर्तमान सतागठबन्धनको सरकार प्रति असन्तुष्टि व्यक्त गर्दै आएका छन । केहि दिन अघि स्वयंम कोईरालाले सार्वजनिक रुपमै काग्रेसले वर्तमान सरकारको बिकल्प वारेमा सोच्नुपर्ने समय आईसकेको बताएका थिए । यद्यपी मंगलवार बसेको यो समुहको बैठकमा पार्टीको काम कारवाही देखि बिहिवार बस्न लागेको केन्द्रिय समिति सहित सरकारको कामकारबाही बारेमा नेताहरुले समीक्षा गरेका छन ।
‘असोज ४ को केन्द्रीय समितिमा के कस्ता एजेन्डा राख्ने भन्ने विषयमा कुराकानी भयो, समसामयिक राजनीतिक घटनाक्रमका विषय र पार्टीका आगामी कार्यदिशाबारे पनि छलफल भयो,’ बैठकपछि नेता दिलेन्द्रप्रसाद बडूले भने, ‘सरकारका कामकारबाही बारे पनि हामी समीक्षा गरियो।’
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा कांग्रेसबाट नौ जना मन्त्री छन्।
बडूका अनुसार मंसिरमा हुने महासमिति बैठक तयारी र ०८२ मै १५ औं महाधिवेशन गर्नुपर्ने विषयका सन्दर्भमा पनि छलफल भएका छन्।
‘क्रियाशील सदस्यता वितरणदेखि सबै तयारी गर्नुपर्ने विषय पनि उठेका छन्,’ उनले भने, ‘केन्द्रीय समितिले पास गरेको वार्षिक कार्ययोजना कति कार्यान्वयन भए वा भएनन् त्यसको पनि समीक्षा हुनुपर्छ भन्ने कुराकानी भएको छ।’
उनले पार्टीलाई थप सशक्त र चलायमान बनाउनुपर्ने बताए। ‘भोलिका दिनमा कांग्रेसको एकल बहुमत आउने गरी पार्टीले काम गर्नुपर्यो,’ उनले भने, ‘त्यसका लागि समयबद्ध काम गर्नुपर्छ भन्ने विषय साथीहरूले राख्नुभएको छ।’
अर्का केन्द्रीय सदस्य सञ्जय गौतमले सरकारका गतिविधिबारे पनि समीक्षा गरिएको जानकारी दिए। ‘सरकारका कतिपय गतिविधिमा पनि हामीलाई चित्त बुझेको छैन,’ गौतमले भने, ‘यो सरकारले सुशासन दिओस्। भ्रष्टाचारलाई नियन्त्रण गरोस् र जनतामा देखिएको निराशालाई आशामा रूपान्तरण गरोस् भन्ने हो।’
कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएपछि प्राय संस्थापनइतर समूहको बैठक बस्ने गर्छ। तर गत साउन २ गते केन्द्रीय समिति बैठक बस्दा त्यसअघि संस्थापनइतरका नेता शेखरले आफ्नो पक्षको बेग्लै बैठक राखेका थिएनन्। त्यसबेला कोइरालामाथि सभापति शेरबहादुर देउवासँग मिलेको आरोपसमेत लागेको थियो भने गुट बैठक नराखेर राम्रो सन्देश दिएको भन्दै देउवा पक्षका नेताहरूले प्रशंसासमेत गरेका थिए।
शेखरले भने सभापति देउवासँग मिलेको कुरालाई खण्डन गरेका थिए। यसपालि असोज ४ मा केन्द्रीय समिति बैठक बस्दैछ। त्यसअघि कोइरालाले मंगलबार आफ्नो सचिवालयमा छलफल गरेका हुन्। कांग्रेस संस्थागत रूपले अघि बढ्नुपर्ने पनि उनले बताए। नेविसंघ र तरूण दलजस्ता भ्रातृ संस्था जम्बो बनाइएको विषयमा पनि बैठकमा नेताहरूले असन्तुष्टि जनाएका छन्।
केन्द्रीय सदस्य गोविन्दराज पोखरेलका अनुसार अनुशासन कारबाही, निलम्बन विधि विधान र प्रक्रियाअनुसार हुनुपर्छ भन्ने विषय पनि उठेको छ।
मंगलवारको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई समेत बोलाईएको थियो । यद्यपी पौडेल मंगलबार बिहान ११ः ३० बजे चीन भ्रमण जाने भएकाले बैठकमा आउन सकेका थिएन । महामन्त्री शर्मा भने काठमाडौ मै रहे पनि बालुवाटारस्थित कोइरालाले राखेको बैठकमा गएनन्। कोईरालाले बैठकमा शर्मासंग आफनो कुरा भईरहेको र थप छलफल गर्ने बताएका थिए ।
१४ औं महाधिवेशनमा कोइराला नेतृत्वको प्यानलबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरु मंगलवारको बैठकमा उपस्थित थिए।