हामीलाई सरकारबाट फाल्दिने खेल भइरहेको छः माधव नेपाल
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहायता परियोजना एससिसीको विरोध गरेर सरकारबाट आफुुहरुलाई फाल्दिने खेल भइरहेको बताएका छन्। पार्टी निकट नेवाः संगठनले सोमबार काठमाडौंका आयोजना गरेको कार्यक्रममा बोल्दै उनले एकीकृत समाजवादीकै कारण एससिसीको व्याख्यात्मक घोषणा भएको बताए।
‘केहीकेही मानिसको गीतै के छ भने एमसिसीलाई बहिष्कार गर्नुपर्छ। अरू केही होइन, एमसिसीको विरोध गरेर हामीलाई सरकारबाट फाल्दिने, कमजोर बनाउने, अमेरिकनहरूको स्वार्थको रक्षा हुने, विदेशीहरूको हालीमुहाली चल्दाखेरि तमासा हेरेर बस्ने अनि जनताले हामीलाई वाहवाह क्रान्तिकारी भनेर जनताले साथ दिनेथिए भनेर हवाई कल्पनागर्नेबाहेक केही पनि होइन,’ उनले भने।
उनले एमसिसीको विरोध गरेकैले वाहवाही पाउने भए नेपाल मजदुर किसान पार्टी देशव्यापी बन्ने बताए।
‘हामीलाई थाहा छ, एमसिसीको घोर विरोध गरेको नेपाल मजदुर किसान पार्टीले त्यही विरोधको कारणले वाहवाही पाउँथ्यो भने अहिले देशव्यापीरूपमा फैलिइसक्ने थियो। एमसिसीको विरोध गरेकैले मोहन विक्रमजी (राष्ट्रिय जनमोर्चा) को पार्टीलाई सारा देशका जनताले भोटभोटै खसालेर सय सिट दिने थिए, हुँदो रहेनछ,’ उनले भने।