सिआइबीको प्रतिवेदन पछि ६० किलो सुन प्रकरणमा आज अदालतमा मुद्दा दर्ता हुदै
सिआइबीले सुन तस्करीको वारेमा आफनो छानबिन प्रतिवेदन बुुझाए पछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आइतबार मुद्दा दर्ता गर्न लागेको छ। यस प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ३२ जनालाई पक्राउ गरेको छ भने १८ जना फरार छन्। सिआइबीले उनीहरूमध्ये २९ जनालाई मात्रै प्रतिवादी बनाउन सरकारी वकिललाई राय दिएको छ।
अहिले पक्राउ पर्नेहरूमा ८ जना त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरू छन् । चार जना भन्सार एजेन्ट, तीन कार्गो एजेन्ट, एक ट्याक्सी चालक, एक भाषा अनुवादक, दुई कम्पनी खोल्ने, दुई कम्पनी खडा गर्ने र सुनको कारोबारमा प्रत्यक्ष रूपमा संलग्न ११ जना गरी ३२ जना छन्।
साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट छुटेको ब्रेक शु राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो। हङकङबाट छुटेको क्याथे प्यासिफिक एयरलाइन्सबाट उक्त सामान ल्याइएको थियो। सुन रहेको सुराकको आधारमा खटिएको विभागको टोलीले भन्सार जाँच पास भएर छुटेको ब्रेक शु बरामद गरेको थियो। उक्त ब्रेक शुभित्र ६० किलो ७१६ ग्राम बरामद भएको हो।दिलिप भुजेलको नाममा रहेको रेडी ट्रेड प्रालिले उक्त ब्रेक शु मगाएको थियो।
यही प्रालिले बरामद नगरिएका ३०२ किलो सुन पनि तस्करी गरेको सिआइबीको अनुमान छ। त्यसैको आधारमा सिआइबीले कुल ३६२.७७८ किलोग्राम सुनको बिगो मागदाबी गरेको छ। सिआइबीले ३ अर्ब ५० करोड २ लाख १६ हजार ५५२ रुपैयाँ बिगो मागदाबी गरेको हो।
३५ दिन अनुसन्धान गरेपछि सिआइबीले गत बुधबार सरकारी वकिल कार्यालयमा पेश गरेको थियो।