काठमाडौंको तीनकुनेमा एकै परिवारको तीन सहित चार जनाको हत्या, एक जना पक्राउ – Nepalboli

काठमाडौंको तीनकुनेमा एकै परिवारको तीन सहित चार जनाको हत्या, एक जना पक्राउ

   २०८० भाद्र ३०, शनिबार  

काठमाडौंको तीनकुनेमा चार जनाको हत्या भएको छ। हत्या गरिएका चार मध्ये तीन जना एकै परिवारको रहेको प्रहरीले पहिचान गरेका छन । काठमाडौं महानगरपालिका ३२ स्थित तिनकुने नजिकै एक सःमिलमा शुक्रबार राति चार जनाको हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार घटनाबारे प्रहरीलाई गएराति साढे ११ बजे सूचना प्राप्त भएको थियो। तत्काल पुगेको प्रहरीले चार जना मृत अवस्थामा फेला पारेको थियो।

उनीहरुको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको एसपी ढुंगेलले जानकारी दिए।

हत्या हुनेहरूमा दोलखाका ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा, उनकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङका १९ वर्षीय नवीन राई रहेको एसपी ढुंगेलले जानकारी दिए।

घटनामा शंकास्पद एक जनालाई प्रहरीले पक्राउ गरेको छ। उनको परिचय खुलाइएको छैन। अहिले चारै जनाको शव पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको र घटनाको थप अनुसन्धान भइरहेको एसपी ढुंगेलले जानकारी दिए।

अहिले प्रहरीद्वारा तालिमप्राप्त कुकुरसमेत लगी अनुसन्धान कार्य जारी रहेको छ । उक्त दिव्य सःमिल दोलखा, कालीञ्चोक गाउँपालिका ८ घर भई गौशाला बस्ने, बालकृष्ण शिवाकोटीले सञ्चालन गरेको बुझिन आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै