शिक्षा विधेयकविरूद्ध शिक्षकहरूद्धारा ३ असोजबाट विद्यालय बन्द गर्ने घोषणा

सरकारले ल्याएको शिक्षा विद्येयक विरुद्ध शिक्षकहरुले ३ असोज देखि सम्पुर्ण विद्यालयहरु बन्द गरेर सडक आन्दोलनमा जाने घोषणा गरेका छन । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले सदनमा दर्ता भएको शिक्षा विधेयकलाई लिएर सडक आन्दोलनको घोषणा गरेको हो ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले आगामी असोज ३ (संविधान दिवसकै) देखि देशभरीका विद्यालय बन्द गरी काठमाडौं केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको हो।
शिक्षा विधेयकले अस्थायी प्रकृतिका शिक्षकहरूको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचना बाहिर रहेका बाल कक्षा शिक्षकहरूको सवाल, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरूवा र कार्यसम्पादन मूल्याङ्कन लगायतका विषयमा सम्बोधन गर्न नसकेको महासंघको अरोप छ।
नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारी नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले घोषणा गरेको आन्दोलनमा ऐक्यवद्धता व्यक्त गरे। उनले नेपाल शिक्षक महासंघले घोषणा गरेको आन्दोलनमा सहभागी हुनका लागि आह्वान गरे। जायज मुद्दा सरकारले सम्बोधन गरेपछि मात्रै आन्दोलन अन्त्य गर्ने उनको दाबी छ।
संस्थागत विद्यालय युनियनका अध्यक्ष होमकुमार थापाले आफूहरू बाध्य भएर असोज ३ गतेदेखि विद्यालय नै बन्द गरेर आन्दोलनमा जान लागेको बताए।
विद्यालय बन्द हुन हुँदैन, विद्यार्थीको पढाइमा कुनै किसिमको असर पर्न हुँदैन भन्ने हेक्का हुँदाहुँदै पनि बालबालिकाको भविष्य बनाउने कुरामा जोडिएका शिक्षकहरूमाथि विधेयकले विभेद गरेको उनको आरोप छ।