बुधवारको मौसम- देशभर आंशिकदेखि सामान्यसम्म बदली – Nepalboli

बुधवारको मौसम- देशभर आंशिकदेखि सामान्यसम्म बदली

   २७ भाद्र २०८०, बुधबार  

बुधबार पनि देशभर मौसम बदली र विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसो त अहिले बिहान पनि देशभर मौसम आंशिकदेखि सामान्यसम्म बदली छ भने बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको भइरहेको महाशाखाले जानकारी दिएको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार दिउँसो पनि मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। अनि देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यस्तै राति पनि मौसम देशभर आंशिकदेखि सामान्यसम्म बदली रहनेछ। अनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। तर आज दिउँसो र राति दुवै समय भारी वर्षाको सम्भावना भने देखाइएको छैन।

काठमाडौं उपत्यकाको मौसम पनि आंशिकदेखि सामान्यसम्म बदली भएको मौसमविद्ले बताएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार यसको अर्थ उपत्यकाको आकाशमा अलि अलि बादल पनि छ र घाम पनि लागिरहेको छ।

‘बादल घट्दै जाने र घाम अझै बढ्दै जाने सम्भावना छ’, उनले भने, ‘तर दिउँसो अपराह्नतिर फेरि बादल बढ्दै गएर हल्का वर्षा हुने सम्भावना छ।’

वर्षा राति ८ बजेसम्म हुने र त्यसपछि रोकिने सम्भावना देखिएको उनको भनाइ छ।

मौसम महाशाखाले आगामी २४ घण्टा (बिहीबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै