कांग्रेसको नेतृत्वमा सरकार गठन हुनुपर्छ – शेखर कोइराला – Nepalboli

कांग्रेसको नेतृत्वमा सरकार गठन हुनुपर्छ – शेखर कोइराला

   २४ भाद्र २०८०, आईतवार  

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार फेर्नुपर्ने संकेत गरेका छन् । ११०औं बीपी जयन्तीको सन्दर्भमा आइतबार हेटौंडा–११ स्थित नवलपुरमा बीपीको शालिक अनावरण गर्न आइपुगेका कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार निर्माण हुँदा मात्र देशमा लोकतन्त्र र राष्ट्रियता बलियो हुने दाबी गरे ।

उनले प्रधानमन्त्री दाहाल अराजक हुँदै गएको आरोपसमेत लगाए । ‘देशमा द्वन्द्व गराउने र द्वन्द्व निम्त्याउने प्रयास भइरहेकाले प्रधानमन्त्रीको अभिव्यक्तिले देशलाई अप्ठ्यारो पारिरहेको छ,’ वरिष्ठ नेता काइरालाले कांग्रेसकै समर्थनमा निर्माण भएको हालका सरकार परिवर्तन गर्ने वा नगर्ने विषयमा पार्टीभित्र छलफल हुने बताए ।

‘हामी देशकै ठूलो दल हौं । हाम्रो ९० सिट छ । यो सबै विषयलाई विचार गरेर अगाडि बढ्छौं,’ उनले यसैगरी सरकार सञ्चालन भएको खण्डमा देश अप्ठ्यारो स्थितमा पुग्ने दाबी गरे । उनले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाकै नेतृत्वमा सरकार गठन हुनुपर्ने समेत बताए । ‘हाम्रो पार्टीमा संसदीय दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था रहेको छ,’ उनले थपे ।

प्रधानमन्त्रीकै कारण धरान घटना भएको उनको टिप्पणी छ । ‘प्रधानमन्त्रीज्यूले आदिवासी जनजातिको कार्यक्रममा हामीलाई भोट दिनुस् हामी जातीय राज्य दिन्छौं भनेर भन्नुभयो । सुर्खेतमा गएर एक दुई महिनाभित्र डेढ दुई लाख जना मानिस सडक उतार्छौं भन्नुभयो,’ कोइरालाले देशको प्रधानमन्त्रीले सडकमा मानिस उतार्छौं र जातीय राज्य बनाउँछौं भन्दै हिँड्दा धरानमा घटना घट्न पुगेको दोहोर्‍याए । ‘धरानमा धार्मिक लडाइँ नभएर जातीय द्वन्द्व भयो,’ उनले थपे ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै