दल त्यागपछि जसपा नेपालका १८ स्थानीय जनप्रतिनिधिको पद गुम्यो – Nepalboli

दल त्यागपछि जसपा नेपालका १८ स्थानीय जनप्रतिनिधिको पद गुम्यो

   २०८३ मंसिर ४, बिहीबार  

काठमाडौं— जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल)बाट २०७९ को स्थानीय तह निर्वाचनमा निर्वाचित भएका १८ जना जनप्रतिनिधिको पद दल त्यागसँगै रिक्त भएको छ ।

निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी कानुनी व्यवस्थाअनुसार ती जनप्रतिनिधिको पद रिक्त भएको औपचारिक सूचना सार्वजनिक गरेको हो । आयोगका अनुसार जसपा नेपालको केन्द्रीय समन्वय समितिले पार्टीको नीति, सिद्धान्त र निर्णयविपरीत गतिविधि गर्दै दल त्याग गरेको भन्दै सम्बन्धित जनप्रतिनिधिहरूको विवरणसहित आयोगमा जानकारी गराएको थियो ।

उक्त जानकारीसँगै प्राप्त कागजात अध्ययन गरी आयोगले २०८३ मंसिर २ गते पद रिक्त हुने निर्णय गरेको जनाएको छ ।

आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम उनीहरूको पद स्वतः रिक्त भएको स्पष्ट पारेको छ ।

पद रिक्त हुनेमा सिराहा, पर्सा, खोटाङ, इलाम, भोजपुर र उदयपुरका स्थानीय तहका जनप्रतिनिधि छन् ।

सिराहाबाट लहान नगरपालिकाका उपप्रमुख राम चरितर महतो, सखुवानान्कारकट्टी गाउँपालिका–४ का वडाध्यक्ष रमेश कुमार यादव र धनगढीमाई नगरपालिका–७ का वडाध्यक्ष विजय कुमार महतोको पद रिक्त भएको छ ।

पर्साको कालिकामाई गाउँपालिका–१ का वडाध्यक्ष लालबाबु राउत बरै र वडा नम्बर ३ का वडाध्यक्ष संजय कुमार पटेल पनि पदमुक्त भएका छन् ।

खोटाङमा जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राई र केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरु राज राईको पद रिक्त भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरकार्यपालिका सदस्य विरेन्द्र कुमार दर्नाल, वडा नम्बर १० का वडाध्यक्ष मुगा धन राई, वडा महिला सदस्य कल्पना राई, दलित महिला सदस्य गिता वि.क. तथा वडा सदस्य रामधन राई र शहर मनी राई पनि पद गुमाउने सूचीमा छन् ।

यसैगरी इलामको माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद कुमार नेम्वाङ्ग, सन्दकपुर गाउँपालिका–४ का वडाध्यक्ष ढाल बहादुर गुरुङ्ग, भोजपुरको टेम्केमैयुङ गाउँपालिका–२ का वडाध्यक्ष बाल चन्द्र राई र उदयपुरको लिम्चुङबुङ गाउँपालिका–४ का वडाध्यक्ष छत्र बहादुर राईको पदसमेत रिक्त भएको आयोगले जनाएको छ ।

दल त्यागसम्बन्धी कानुनी प्रक्रिया पूरा भएपछि स्थानीय तहका यी पदहरू रिक्त भएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै