रसुवा बाढी: १३ हजारभन्दा बढीको उद्धार, ५ हजारभन्दा बढी अझै बेपत्ता – Nepalboli

रसुवा बाढी: १३ हजारभन्दा बढीको उद्धार, ५ हजारभन्दा बढी अझै बेपत्ता

   २०८३ भाद्र १९, शुक्रबार  

काठमाडौं— भदौ १० गते आएको रसुवा बाढीको १० दिनपछि पनि मानवीय र भौतिक क्षतिको विवरण झन भयावह बन्दै गएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म १३ हजार ९५ जनाको सकुशल उद्धार गरिएको छ भने ४ हजार ६ सय २७ जना अझै पनि होल्डिङ सेन्टरमा आश्रय लिन बाध्य छन् ।

प्राधिकरणले शुक्रबार साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता शान्ति महतले दिएको जानकारी अनुसार, बाढीमा परी ज्यान गुमाउनेको संख्या १ हजार २ सय ९४ पुगेको छ । उनीहरु सबैको शव फेला परेको हो। यस्तै ५ हजार ५३ जना अझै बेपत्ता छन् ।

प्रवक्ता महतका अनुसार बाढीबाट रसुवा, नुवाकोट र धादिङ सबैभन्दा बढी प्रभावित भएका छन् । ती तीन जिल्लाका ३७ वटा होल्डिङ सेन्टरमा विस्थापितहरुलाई राखिएको छ ।

भौतिक क्षति ठूलो

प्रारम्भिक आंकलन अनुसार बाढीले ७ हजार ५ सय ७० घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ भने ३२ हजार ९ सय ३३ जना प्रत्यक्ष प्रभावित भएका छन् ।

बाढीका कारण ४८ वटा सरकारी भवन, १८ वटा विद्यालय र ७ वटा स्वास्थ्य संस्थामा क्षति पुगेको छ ।

पूर्वाधारतर्फ ५५ किलोमिटर सडक पूर्ण रूपमा बगाएको छ भने ३७ वटा मोटरेबल पुल र ६८ वटा झोलुङ्गे पुलमा क्षति पुगेको प्राधिकरणले जनाएको छ ।

यस्तै १ हजार ८ सय ६ हेक्टर कृषियोग्य जमिन नष्ट हुँदा ७ हजार ६ सय ८६ मेट्रिक टन खाद्यान्न उत्पादन घट्ने अनुमान गरिएको छ ।

विद्युत उत्पादनमा पनि ठूलो धक्का लागेको छ । बाढीले ३ जलविद्युत आयोजना, १ सोलार प्लान्ट र २ वटा प्रसारण लाइनमा क्षति पुर्‍याउँदा ७ सय ८३ मेगावाट विद्युत उत्पादन अवरुद्ध भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै