होर्मुजमा तनाव चर्कियोः अमेरिकी आक्रमणपछि इरानको ‘जवाफ र सजाय’ दिने चेतावनी
काठमाडौं— स्ट्रेट अफ होर्मुजमा बढ्दो तनावबीच अमेरिकाले इरानको लारक द्वीपमा रहेका दुईवटा इरानी लन्चरमा सैन्य आक्रमण गरेपछि तेहरानले त्यसको जवाफ दिने चेतावनी दिएको छ ।
अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम)का प्रवक्ता कमाण्डर टिम हकिन्सका अनुसार इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी)ले होर्मुज जलडमरूमध्यमा समुद्री माइनसहित रकेट प्रहारको तयारी गरिरहेको फेला परेपछि अमेरिकी सेनाले कारबाही गरेको हो । गत जुलाईको अन्त्यपछि इरानमाथि भएको यो पहिलो अमेरिकी सैन्य प्रहार भएको जनाइएको छ ।
आक्रमणमा आफ्ना केही सदस्यको मृत्यु र केही घाइते भएको आईआरजीसीले पुष्टि गरेको छ । उसले अमेरिकालाई ‘जवाफ र सजाय’ दिने चेतावनी दिएको छ ।
त्यसपछि इरानी सरकारी सञ्चारमाध्यमले इरानले जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यमा आक्रमण गरेको दाबी गरेका छन् । तर जोर्डनको सेनाले आफ्नो हवाई क्षेत्र उल्लङ्घन गर्ने आठ वटा क्षेप्यास्त्रलाई निस्तेज पारेको जनाएको छ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यमा इरानले राखेका सबै समुद्री माइन हटाइएको दाबी गर्दै पुनः माइन राख्ने कुनै पनि जहाज वा डुङ्गालाई नष्ट गर्ने चेतावनी दिएका थिए ।
इरानका उपविदेशमन्त्री काजेम घरिबाबादीले भने ट्रम्पको दाबीलाई ‘प्रचारबाजी’ भनेका छन् ।
आईआरजीसीका प्रवक्ता होसेन मोहेब्बीले अमेरिकी आक्रमणलाई ट्रम्प प्रशासनको ‘रणनीतिक र घातक गल्ती’ भनेका छन् ।
इरानी सञ्चारमाध्यमका अनुसार लारक द्वीपमा भएको आक्रमणमा दुई जनाको मृत्यु र दुई जना घाइते भएका छन् ।
जवाफमा इरानले जोर्डनस्थित किङ हुसेन र अल–अज्राक अमेरिकी बेसमा बलिस्टिक क्षेप्यास्त्र प्रहार गरी ठूलो क्षति पुर्याएको दाबी गरेको छ । यद्यपि यी दाबीहरूबीच घटनाको स्वतन्त्र पुष्टि भएको छैन ।
इरानले होर्मुज हुँदै जाने ट्याङ्करहरूलाई लारक द्वीप भएर जान बाध्य पारिरहेको र प्रति जहाज २० लाख डलर असुलिरहेको बताइएको छ ।
अमेरिका–इजरायल र इरानबीच जारी युद्धका कारण विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास ओसारपसार हुने होर्मुज जलमार्ग ठप्पप्रायः बनेको छ । यसले विश्वव्यापी ऊर्जा आपूर्ति र तेल बजारमा थप दबाब पर्न सक्ने जोखिम बढाएको छ ।