नरेन्द्र मोदीले सरकार प्रमुखका रूपमा २५ वर्ष पूरा गरेको अवसरमा भारतीय मन्त्रिमण्डलको प्रशंसा – Nepalboli

नरेन्द्र मोदीले सरकार प्रमुखका रूपमा २५ वर्ष पूरा गरेको अवसरमा भारतीय मन्त्रिमण्डलको प्रशंसा

   २०८३ आश्विन २०, मंगलवार  

नयाँ दिल्ली— भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरकार प्रमुखका रूपमा लगातार २५ वर्ष पूरा गरेको अवसरमा भारतको केन्द्रीय मन्त्रिमण्डलले उहाँको नेतृत्व, नीतिगत सुधार र राष्ट्रसेवाको प्रशंसा गरेको छ ।

मन्त्रिमण्डलले मंगलबार पारित गरेको प्रस्तावमा मोदीले ७ अक्टोबर २००१ देखि ७ अक्टोबर २०२६ सम्म गुजरातको मुख्यमन्त्री र भारतको प्रधानमन्त्रीका रूपमा लगातार २५ वर्ष सरकार प्रमुखको जिम्मेवारी सम्हालेको उल्लेख गरिएको छ ।

प्रस्तावमा मोदीको २५ वर्षे राजनीतिक यात्रालाई ‘राष्ट्र प्रथम’ र ‘नागरिक प्रथम’को भावनाबाट प्रेरित सेवा यात्राका रूपमा चित्रण गरिएको छ । गरिब तथा वञ्चित वर्गको उत्थान, महिला सशक्तीकरण, किसान कल्याण, युवाका लागि अवसर सिर्जना, पूर्वाधार विकास, डिजिटल प्रविधि तथा राष्ट्रिय सुरक्षालाई मोदी नेतृत्वको प्रमुख प्राथमिकताका रूपमा उल्लेख गरिएको छ ।

मन्त्रिमण्डलले मोदी नेतृत्वमा रिफर्म, परफर्म र ट्रान्सफर्म’को अवधारणामार्फत भारतमा आर्थिक तथा प्रशासनिक सुधार अघि बढेको दाबी गरेको छ । जनधन योजना, प्रत्यक्ष लाभ हस्तान्तरण, जीएसटी, यूपीआई, डिजिटल सार्वजनिक पूर्वाधार तथा ‘मेक इन इन्डिया’ र ‘आत्मनिर्भर भारत’जस्ता अभियानलाई महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ ।

प्रस्तावमा गरिबका लागि आवास, खानेपानी, स्वास्थ्य तथा खाद्य सुरक्षा विस्तार भएको उल्लेख गर्दै आयुष्मान भारतमार्फत ६० करोडभन्दा बढी लाभार्थीलाई स्वास्थ्य सुविधा उपलब्ध गराइएको र ४ करोडभन्दा बढी पक्की घर निर्माण भएको दाबी गरिएको छ । किसानतर्फ प्रधानमन्त्री किसान सम्मान निधिमार्फत १० करोडभन्दा बढी किसानलाई प्रत्यक्ष आर्थिक सहायता उपलब्ध गराइएको उल्लेख छ ।

 

महिला सशक्तीकरणलाई पनि मोदी सरकारको महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गर्दै स्वयं सहायता समूह, मुद्रा ऋण, ‘लखपति दीदी’ अभियान तथा संसद्मा महिला आरक्षणसम्बन्धी कानुनी व्यवस्थालाई मन्त्रिमण्डलले उल्लेख गरेको छ ।
राष्ट्रिय सुरक्षाका विषयमा धारा ३७० खारेजी, वन र्‍याङ्क वन पेन्सन, चिफ अफ डिफेन्स स्टाफको व्यवस्था तथा सर्जिकल स्ट्राइक, बालाकोट एयर स्ट्राइक र अपरेसन सिन्दूरलाई मोदी नेतृत्वका महत्वपूर्ण निर्णयका रूपमा प्रस्तुत गरिएको छ ।

अन्तर्राष्ट्रिय क्षेत्रमा भारतको प्रभाव बढेको दाबी गर्दै मन्त्रिमण्डलले जी–२०, ब्रिक्स, ग्लोबल साउथ तथा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनलगायतका मञ्चमा भारतको भूमिका विस्तार भएको जनाएको छ । जलवायु परिवर्तन, नवीकरणीय ऊर्जा, अन्तरिक्ष, आर्टिफिसियल इन्टेलिजेन्स र क्वान्टम प्रविधिजस्ता क्षेत्रमा पनि भारतले प्रगति गरेको प्रस्तावमा उल्लेख छ ।

मन्त्रिमण्डलले मोदी नेतृत्वमा भारतको अन्तर्राष्ट्रिय प्रतिष्ठा बढेको दाबी गर्दै विभिन्न देशले प्रधानमन्त्री मोदीलाई उच्च नागरिक सम्मान प्रदान गरेको र विश्वका विभिन्न संसद्मा उहाँले सम्बोधन गरेको विषयलाई समेत उल्लेख गरेको छ ।

प्रस्तावमा ‘सबका साथ–सबका विकास, सबका विश्वास र सबका प्रयास’को भावनाबाट विकसित भारत निर्माणको अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिएको छ ।
केन्द्रीय मन्त्रिमण्डलले मोदीलाई सरकार प्रमुखका रूपमा २५ वर्ष पूरा गरेकोमा बधाई दिँदै उहाँको उत्तम स्वास्थ्य तथा निरन्तर सेवाका लागि शुभकामना व्यक्त गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै