अमेरिकासँगको युद्ध अन्त्य गर्ने बेला आएको छ: इरानी राष्ट्रपति
काठमाडौँ — इरानी राष्ट्रपति मसुद पेजेस्कियान ले संयुक्त राज्य अमेरिकाविरुद्ध महिनौँदेखि जारी द्वन्द्व अन्त्य गर्ने समय आएको बताएका छन् ।
चिकित्सकहरूसँगको भेटमा उनले अहिले मध्यपूर्वमा तेहरान वाशिङ्टनभन्दा बलियो अवस्थामा रहेको दाबी गर्दै संसारले इरानको विजय स्वीकार गरिसकेको टिप्पणी गरे । उनले अब युद्ध रोक्न कूटनीतिक पहल आवश्यक रहेकोमा जोड दिए ।
फेब्रुअरीदेखि जारी तनावका कारण दुवै पक्षबीच गतिरोध कायम छ । यसबीच इरानले रणनीतिक महत्वको होर्मुज जलमार्ग आंशिक रूपमा बन्द राखेको छ, जसले विश्व ऊर्जा आपूर्तिमा समेत असर पारेको छ ।
पेजेस्कियानले जुन महिनामा अमेरिकासँग भएको समझदारीलाई बचाउ गर्दै त्यसले इरानको पराजय नजनाएको स्पष्ट पारे । यद्यपि, इरानभित्रका कट्टरपन्थी सांसदहरूले होर्मुज जलमार्ग पुनः खोल्ने विषयमा अमेरिकालाई सहुलियत दिएको आरोप लगाउँदै सरकारको आलोचना गरिरहेका छन् ।
उता अमेरिकाले तेहरानमाथि आर्थिक दबाब अझ कडा बनाउने संकेत दिएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट ले प्रतिबन्धमार्फत इरानी शासनलाई कमजोर पार्ने रणनीति जारी रहने बताएका छन्। इरानले भने त्यसलाई “आर्थिक आतङ्कवाद” को संज्ञा दिँदै कडा विरोध गरेको छ ।
चीनलगायतका देशहरूले प्रतिबन्ध र दबाबभन्दा पनि राजनीतिक संवाद तथा कूटनीतिक समाधानलाई प्राथमिकता दिन आग्रह गरेका छन् ।