बदलिएको काँग्रेससंग देश बदल्ने पनि तागत छ- उपसभापति शर्मा – Nepalboli

बदलिएको काँग्रेससंग देश बदल्ने पनि तागत छ- उपसभापति शर्मा

   २०८२ माघ २९, बिहीबार  

बुटवल – नेपाली काँग्रेसका उपसभापति विश्व प्रकाश शर्माले बदलिएर आएको काँग्रेस पार्टी आगामी निर्वाचनबाट बहुमतका साथ देशकै पहिलो र ठूलो दल बन्ने दाबी गर्नुभएको छ । उहाँले बदलिएको काँग्रेसंग देश बदल्ने तागत पनि रहेको बताउँदै, देश बदल्ने नेपाली जनताको सपना काँग्रेसले साकार पार्ने दावी गर्नुभयो । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनबाट सबैभन्दा ठूलो र पहिलो दलको रुपमा आउने उहाको भनाइ छ । उहाँले देशका विभिन्न स्थानमा पुग्दा र प्राप्त गरिएको विभिन्न ठाउँको सूचनाबमोजिम काँग्रेस पहिलो पार्टी बन्ने बताउनुभएको हो ।

काँग्रेस रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत पार्टी सदस्य भेटघाट कार्यक्रममा उपसभापति शर्माले काँग्रेस फेरी ठूलो दलको रुपमा देशको नेतृत्व गर्ने गरी बहुमतको दिशातर्फ अग्रसर भइरहेको बताउनुभयो । ‘काँग्रेसले धेरै निर्वाचनहरु जितेको छ । जित्ने कुरा हाम्रा लागि नौलो कुरा होइन, कयौं निर्वाचन हामी हारेका छौं । हार्ने कुरा पनि काँग्रेसको जिन्दगीमा नौलो कुरा होइन । तर, यो निर्वाचन कुन दल र उम्मेदवारले जित्ने भन्दा पनि अझ विशेष, गहन र गम्भीर छ, ’उहाँले भन्नुभयो ।

२०८४ मा हुने चुनाव २०८२ मा किन हुँदैछ ? ७४ जना आमाको काख किन जल्यो ? देशको सिंहदरबार, संसद् भवन किन जल्यो, अरबौं खरबौंको क्षति किन भयो, देशमा त्यो प्रकारको निराशा किन भयो ? यो भएको कुराको गम्भीर समीक्षा गरेर मतदातालाई मत दिन काँग्रेस आग्रह गर्ने हो, ’शर्माले भन्नुभयो ।

देशमा मन जलेको, मान्छेको मन भाँचिएको र विश्वास टुक्रिएको उहाँको भनाइ छ । ‘यो बेला जेनजी विद्रोह सबै गलत भयो, भदौ २३ अघि सबै ठीक थियो भन्ने होइन, ’उहाँले भन्नुभयो । पुरानाका दिन गए भन्न नमिल्ने उहाँको भनाइ छ । यो धर्तीमा सबैभन्दा पूरानो कुरा धर्ती नै भएको र नयाँ भनेको जन्ममितिले नहुने शर्माले बताउनुभयो । ‘नयाँ भनेको सोच, दृष्टिकोण र नेतृत्वको बदलावले हुन्छ । साँच्दै बदलिएको हो र नयाँ भएर आएको काँग्रेस नै हो, ’शर्माले भन्नुभयो ।

जेनजी विद्रोहले देशमा परिवर्तन खोजेको उहाँले बताउनुभयो । संसार बदल्नु छ भने आफूबाट नै सुरुवात गर्नुपर्ने शर्माको भनाइ छ ।

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै