पार्किङ विवाद हिंसामा परिणत हेटौँडामा धारिलो हतियार प्रहार, चार जना घाइते – Nepalboli

पार्किङ विवाद हिंसामा परिणत हेटौँडामा धारिलो हतियार प्रहार, चार जना घाइते

   २०८३ श्रावण ३०, शनिबार  

हेटौँडा — गाडी पार्किङको सामान्य विवादले हिंसात्मक रूप लिँदा हेटौँडाको बसपार्क क्षेत्रमा धारिलो हतियार प्रहारबाट चार जना घाइते भएका छन् । घटनामा संलग्न भएको आरोपमा मकवानपुर प्रहरीले चार युवालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

प्रहरीका अनुसार शुक्रबार हेटौँडा उपमहानगरपालिका–१० बसपार्क क्षेत्रमा पार्किङको विषयलाई लिएर मनहरी गाउँपालिका–१ मकरीका ३१ वर्षीय लक्ष्मण बर्तौला र अन्य युवाबीच विवाद भएको थियो । विवादपछि लक्ष्मणले पदमपोखरीका सुनिल थिङ, भोर्लेका करण लामा र मकरीकै उज्ज्वल बर्तौलालाई बोलाएपछि झडप चर्किएको र धारिलो हतियार प्रयोग भएको प्रहरीले जनाएको छ ।

घटनामा मनहरी–६ का २७ वर्षीय जीवन गोलेको ढाडमा गम्भीर चोट लागेको छ। ओखलढुंगाको सिद्धिचरण नगरपालिका–७ का २८ वर्षीय राइज आले मगरको पनि ढाडमा चोट लागेको प्रहरीले जनाएको छ ।

यस्तै, चितवनको राप्ती नगरपालिका–२ मिलनटोलका ३२ वर्षीय रामबहादुर पाख्रीनको छाती र ढाडको पछाडिको भागमा तथा राप्ती–४ डडुवाका २८ वर्षीय जीवन तामाङको दाहिने आँखामा भित्री चोट लागेको छ ।

घाइतेमध्ये जीवन गोले र राइज आले मगरको हेटौँडा अस्पतालमा तथा रामबहादुर पाख्रीन र जीवन तामाङको सीएमसी हेटौँडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले लक्ष्मण बर्तौला, सुनिल थिङ, करण लामा र उज्ज्वल बर्तौलालाई नियन्त्रणमा लिएको छ । घटनामा प्रयोग भएको धारिलो हतियार, झडपको वास्तविक कारण र संलग्न व्यक्तिहरूको भूमिकाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै