काठमाडौमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो – Nepalboli

काठमाडौमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

   २०८३ श्रावण ३०, शनिबार  

काठमाडौ– काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ८०औँ स्वतन्त्रता दिवस शनिबार विविध कार्यक्रमसहित मनाइएको छ। कार्यक्रममा नेपालस्थित भारतीय समुदाय, भारतका मित्र, राजदूतावासका अधिकारी तथा उनीहरूका परिवारको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रमको सुरुवात ‘वन्दे मातरम्’ गायनबाट भएको थियो। त्यसपछि नेपालका लागि भारतीय राजदूतले राष्ट्रिय झण्डभारतको राष्ट्रिय गान बजाइएको थियो। सो अवसरमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले ८०औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा राष्ट्रका नाममा दिएको सम्बोधनसमेत प्रसारण गरिएको थियो।

कार्यक्रममा राजदूतले भारतीय सशस्त्र सेनाका दिवंगत ११ जना सैनिकका विधवा तथा निकटतम हकदारलाई सम्मान गर्दै आर्मी ग्रुप इन्स्योरेन्स फन्ड (AGIF) अन्तर्गत कुल ८ करोड २० लाख नेपाली रुपैयाँ बराबरका चेक हस्तान्तरण गरे।

त्यसैगरी, भारतको ८०औँ स्वतन्त्रता दिवसको अवसरमा राजदूतावासले आयोजना गरेका विभिन्न प्रतियोगिताका विजेतालाई समेत सम्मान गरिएको थियो। ‘विकसित भारत’ विषयमा आयोजित चित्रकला प्रतियोगिता, ‘विकसित भारत रन’ तथा अन्तरविद्यालय क्विज प्रतियोगिताका विजेतालाई सम्मान गरिएको हो। ‘भारत को जानिए’ क्विजको विशेष संस्करणका विजेतालाई पनि सो अवसरमा पुरस्कृत गरिएको थियो।

राजदूतावासले नेपालका सातै प्रदेशमा रहेका २२ वटा शैक्षिक संस्था तथा पुस्तकालयका लागि पुस्तक अनुदान प्रदान गर्ने घोषणा पनि गरेको छ। यस पहलले शैक्षिक सामग्रीमा पहुँच विस्तार गर्न सहयोग पुग्ने दूतावासले जनाएको छ।

स्वतन्त्रता दिवस समारोहमा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका शिक्षक तथा विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति र देशभक्तिपूर्ण गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागी भारतीय समुदाय, भारतका मित्र, राजदूतावासका अधिकारी तथा परिवारका सदस्यहरूले उत्साहपूर्वक स्वतन्त्रता दिवस मनाएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै