एमालेलाई जसपा नेपालको झट्का, विश्वासको मतको विपक्षमा उभिने
लुम्बिनी— लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमाले नेता चेतनारायण आचार्यले विश्वासको मत लिनुअघि नै जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारबाट समर्थन फिर्ता लिँदै आफ्ना प्रदेशसभा सदस्यलाई विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
पार्टीका महासचिव डा. सुरेन्द्रकुमार झाले जारी गरेको पत्रअनुसार भदौ १ गतेदेखि लागू हुने गरी एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइएको हो । उक्त निर्णयबारे लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता सन्तोषकुमार पाण्डे तथा प्रदेशसभा सदस्यहरूलाई औपचारिक जानकारी गराइएको छ ।
यसैबीच, आज बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने कार्यसूची रहेको छ । जसपा नेपालले आफ्ना सबै प्रदेशसभा सदस्यलाई अनिवार्य रूपमा विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको महासचिव झाले बताएका छन् ।
जसपा नेपालको यो निर्णयले विश्वासको मतअघि नै लुम्बिनी प्रदेशको सत्ता समीकरणमा नयाँ राजनीतिक तरंग पैदा गरेको छ ।