गगन थापाको स्पष्ट सन्देश : भेलाका निर्णय कांग्रेसको आधिकारिक नीति बन्दैनन्
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र हुने गुटगत वा समूहगत भेलाका निर्णयलाई कांग्रेसको आधिकारिक नीति मान्न नसकिने स्पष्ट पारेका छन्।
सोमबार केन्द्रीय समितिको समापन समारोहलाई सम्बोधन गर्दै थापाले कांग्रेसभित्र भेला गर्ने परम्परा रहेको स्वीकार गरे पनि त्यस्ता भेलाले गरेका निर्णय महासमिति वा पार्टीका आधिकारिक निकायले अनुमोदन नगरेसम्म नीतिको अंग नबन्ने बताए।
“भेला गर्न पाइन्छ, परम्परा पनि छ । शेरबहादुर देउवा सभापति हुँदा मैले पनि धेरै भेला गरेको छु। तर भेलाका निर्णय पार्टीको नीति बन्दैनन्,” थापाले भने।
संस्थापन इतर समूहको हालै सम्पन्न भेलालाई संकेत गर्दै उनले त्यसबारे विभिन्न प्रश्न उठेको उल्लेख गरे। थापाका अनुसार कांग्रेसको आधिकारिक धारणा भने गोदावरीमा सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सम्पन्न महासमिति बैठकले तय गरिसकेको नीति नै हो।
उनले समूहगत भेलामा नेताहरूले उठाएका विषय सुन्नुपर्ने धारणा राख्दै आफूले पनि त्यहाँ भएका अभिव्यक्तिहरू सुनेको बताए।