सुन तस्करी प्रकरणमा चिनियाँको जालो खोज्दै राजस्व अनुसन्धान विभाग

राजस्व अनुसन्धान विभागले बरामद गरेको एक क्विन्टल सुन तस्करी प्रकरणमा अनुसन्धान अधिकारीहरुले चिनियाँ व्यवसायीको नेपालमा रहेको जालो खोज्न थालेका छन् । भाग्न लागेको अवस्थामा पक्राउ परेका चिनियाँ नागरिक ज्यास्याङ लिनसँग जोडिएका नेपालीको कनेक्सन खोज्न अनुसन्धान अधिकारीहरुले उनको मोबाइलको कल डिटेल रेकर्ड (सीडीआर) र उनको डेरा र गोदाम आसपासका क्लोज सर्किट (सीसी) क्यामरा फुटेज लगायतको विश्लेषण गरिरहेका छन् ।
‘हालसम्म अनुसन्धानका क्रममा फेला परेका सुनसँग जोडिएको कडीमध्ये सबैभन्दा माथिल्लो व्यक्ति उनी नै हुन्, नेपालमा आउने सुनको व्यवस्थापन लिनले नै गर्ने गरेको देखिएको छ’, अनुसन्धानमा संलग्न राजश्व अनुसन्धान विभागका एक अधिकारी भन्छन्, ‘उनी मार्फत अन्य व्यक्तिहरुको कनेक्सन खोतल्ने प्रयास गरिरहेका छौं ।’
लिनले नै उपत्यकामा सुन राख्नका लागि विभिन्न ठाउँमा घर र गोदाम भाडामा लिएको खुलेको अधिकारीहरु बताउँछन् ।
राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको एक क्विन्टल सुन २ साउनमा सिनामंगलबाट बरामद गरेको थियो । त्यसबेला विभागको टोलीले ट्याक्सी चालक अशोक लामालाई नियन्त्रणमा लिएको थियो ।
विभागका एक अधिकारीका अनुसार, सुन सहितको सामग्री बरामद गरेपछि हङकङबाट सुनसहितको ‘ब्रेक शु’ मगाउने रेडी ट्रेड प्रा लिका सञ्चालक दोलखाका २१ वर्षीय दिलीप भुजेललाई चाबहिलबाट पक्राउ गरिएको थियो ।
सामान्य मजदुरी गर्ने उनले २० हजार रुपैयाँ पाउने भएपछि आफ्नो नागरिकता मामा रामकुमार भुजेललाई दिएको बताएका थिए । अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, त्यसपछि रामकुमारलाई पक्राउ गरेर सोधपुछ गर्दा उनले भोजपुरको अरुण गाउँपालिका–४ का हर्कराज राईको नाम लिएका थिए ।
बूढानीलकण्ठमा बसेका राईको खोजीमा नेपाल प्रहरीको विशेष टोली खटिएको थियो ।
थाप्तेनको बयानका आधारमा ४ साउन राति ३ बजे बालुवाटारस्थित एक गोदामसम्म राजश्व अनुसन्धान विभाग र सशस्त्र प्रहरीको टोली छापा हानेको थियो । त्यसक्रममा त्यो घर चिनियाँ नागरिकले भाडामा लिएको खुलेको थियो ।
‘त्यहाँ पुगेको टोलीले घरबेटीमा के आधारमा भाडामा दिएको भनेर सोध्दा उनले पासपोर्टको कपी देखाए, फोन नम्बर पनि दिए’, विभागका एक अधिकारी भन्छन्, ‘त्यसपछि नेपाल प्रहरीको एक टोली खोजीमा परिचालित भयो, दरबारमार्ग नजिकै उत्तर ढोकामा उनको लोकेशन देखियो ।’
उत्तर ढोकाबाट पछ्याउँदै जाँदा उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुगे । ‘त्यहाँ पुगेपछि भाग्न लागेका रहेछन् भन्ने भयो, पक्राउ गरेर अध्यागमनलाई बुझायौं’, अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्, ‘अध्यागमनलाई पहिल्यै पत्राचार भइसकेकाले त्यहाँमार्फत राजश्व अनुसन्धान विभागसम्म लिनलाई जिम्मा लगाएका थियौं ।’
राजस्व अनुसन्धान विभागका अधिकारीहरुले लिनबाट सुन तस्करीका धेरै विवरण खुल्ने अपेक्षा गरेका थिए । तर, उनले अनुसन्धानमा समन्वय नगरेको भन्सारका अधिकारीहरु बताउँछन् । उनको बयानका लागि विभागले एक जना अनुवादकलाई बोलाएको छ ।
‘यद्यपि उनले हरेक कुराको जवाफ थाहा छैन भनेर मात्र दिने गरेका छन्, अधिकांश समय उनी बोल्दै बोल्दैनन्’, विभागका एक अधिकारीले भने, ‘तर अरु प्रमाणहरुले हालसम्म नेपालमा हुने सुनको व्यवस्थापन उनले नै गर्ने गरेको देखिएको छ ।’
लिनको सम्पर्क विवरणको प्राविधिक विश्लेषण गर्दा अन्य केही चिनियाँ व्यक्तिहरुको संलग्नता समेत खुलेको छ । लिनबाट महत्वपूर्ण सुराक नपाए पनि थाप्तेनको बयानका आधारमा विभागले ठमेल, सोह्रखुट्टे, बालुवाटार र लाजिम्पाटमा छापा मारेको छ । साह्रखुट्टेमा ६६ कार्टुन ब्रेक शु, दुईवटा सुन जोख्ने र पगाल्ने मेसिन बरामद भएको छ ।
हालसम्मको अनुसन्धानले सुनको नेक्ससमा चिनियाँ गिरोहको मात्र संलग्नता देखिएको अधिकारीहरुको दाबी छ । तर, नेपाली नागरिकको सहयोग विना अर्बमाथि लगानी गरेर सुन ल्याउने जोखिम चिनियाँले नमोल्ने बताउँदै त्यसलाई तोड्ने प्रयास भइरहेको अधिकारीहरु बताउँछन् ।
विभागले अहिले सुन प्रकरणको छानबिनका लागि तीन जना निर्देशक सहितको समिति बनाएर काम गरिरहेको छ ।
दावा थिए नेपालमा चिनियाँ गिरोह भित्र्याउने मुख्य नाइके
१ क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका ठमेलको भियना होटलका सञ्चालक दावा छिरिङ नेपालमा चिनियाँ गिरोह भित्र्याउने नाइके (मुख्य व्यक्ति) रहेको पाइएको छ। दावालाई राजस्व अनुसन्धान विभागको टोलीले आइताबर ठमेलस्थित उनकै होटलबाट पक्राउ गरेको थियो।
प्रहरी उच्च स्रोतका अनुसार चिनियाँ व्यक्ति संलग्न भएर नेपालमा हुने हरेकजसो अपराधमा दावाको कनेक्सन जोडिन्छ। नेपालमा हुने अनलाइन जुवा, अनलाइन ठगी, लोन, एमएस, अश्लिल भिडियो देखाएर हुने ब्लयाकमेलिङ ठगी लगायतमा उनको संलग्नताका प्रमाणहरु देखिएको प्रहरी स्रोको भनाइ छ।
प्रहरीले काठमाडौंमा विशेष अपरेशन चलाएर १२२ चिनियाँ नागरिकलाई पक्राउ गर्दा दावा पनि पक्राउ परेका थिए। पछि उनी छुटेका थिए।
तिब्बती मुलका दावासँग नेपालको र बेल्जियमको दोहोरा नागरिकता रहेको खुलेको छ। उनले काभ्रेबाट नेपाली नागरिकता लेखिएको देखिएको प्रहरी स्रोतको भनाइ छ।
दावाले रोल्पाकी अमला रोकासँग विवाह गरेका छन्। दावाको माओवादीका केही नेताहरुसँग राम्रो सम्बन्ध रहेको पनि उच्च स्रोतको दाबी छ।