यो बर्षको एक महिने मनसुनमा ४४ जनाको मृत्यु र ४५ करोडको क्षति – Nepalboli

यो बर्षको एक महिने मनसुनमा ४४ जनाको मृत्यु र ४५ करोडको क्षति

   ३ श्रावण २०८०, बुधबार  

नेपालमा मनसुन भित्रिएको एक महिनामा बाढी, पहिरो र चट्याङमा परेर ४४ जनाको जनाको मृत्यु भएको छ भने २५ जना बेपत्ता छन्। यो अवधिमा ४५ करोड बराबरको भौतिक क्षति भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता ध्रुवबहादुर खड्काका अनुसार बाढी, पहिरो र चट्याङका कारण ३२ पुरुष र १२ महिला गरेर ४४ जनाको मृत्यु भएको हो। सबैभन्दा बढी पहिरोमा परेर २० जनाको मृत्यु भएको छ। पहिरोमा १६ पुरुष र चार महिलाको मृत्यु भएको हो। यो अवधिमा चट्याङ्ले १७ जनाको मृत्यु भएको छ। जसमा १२ पुरुष र पाँच महिला छन्। बाढीका कारण सात जनाको मृत्यु भएको छ।

एक महिनाको अवधिमा पहिरोले ५१ र बाढीले २३ जिल्ला प्रभावित भएका छन्। प्राधिकरणका प्रवक्ता खड्काका अनुसार ५१ जिल्लाका २४२ ठाउँमा पहिरो गएको छ। पहिरोले २० जनाको मृत्यु हुँदा पाँच जना बेपत्ता छन्। १३ जना घाइतेको उपचार भइरहेको छ।

पहिरोबाट ४८५ परिवार प्रभावित हुँदा ३७ घरमा पूर्णरुपमा क्षति भएको छ भने २२ घरमा आंशिक क्षति भएको छ। पहिरोबाट ७८ चौपायाको मृत्यु् भएको छ। पहिरोबाट एक करोड ६४ लाख क्षति भएको प्रवक्ता खड्काले बताउनुभयो।

२३ जिल्लाका ८५ ठाउँमा बाढीले क्षति गरेको छ। बाढीले सात जनाको मृत्यु हुँदा २० जना बेपत्ता छन्। बाढीमा घाइते भएका पाँच जनाको उपचार भइरहेको छ।

बाढीले १६० परिवार प्रभावित हुँदा १९ घरमा पूर्ण र १२ घरमा आंशिक क्षति भएको छ। बाढीमा डुबेर ८१ चौपाया मरेका छन्। बाढीबाट चार करोड ६६ लाख बढी क्षति भएको प्राधिकरणको अनुमान छ।

मनसुन सुरु भएपछि चट्याङ्बाट १७ जनाको मृत्यु हुँदा ३४ जना घाइते भएका छन्। चट्याङले ५० परिवार प्रभावित भएका छन्। यसबाट दुई घर पूर्ण र दुई घरमा आंशिक क्षति भएको छ। १६७ चौपाया मरेका छन्। चट्याङ्बाट १७ करोड ९६ लाखको क्षति भएको प्राधिकरणको अनुमान छ।

पूर्वाधारमा ४५ करोड क्षति

बाढी तथा पहिरोले सडकमा ४५ करोडको क्षति भएको प्राधिकरणका प्रवक्ता खड्काले बताउनुभयो। कोशी प्रदेश मनसुन प्रवेश बिन्दुको रुपमा रहेका कारण यो प्रदेशमा सबैभन्दा बढी क्षति भएको देखिएको उहाँ बताउनुहुन्छ।

मनसुन सुरु भएसँगै नौ वटा मोटरेबल पुल र २२ वटा झोलुङ्गे पुल बगाएको छ। झोलुङ्गे पुलमा मात्र १२ करोडको क्षति भएको छ। २८ सङ्घीय खानेपानी आयोजना बगाएको छ।

मनसुन नेपाल भित्रिएको सरदर ११२ दिनसम्म रहन्छ। यो वर्ष राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले मनसुनबाट १२ लाख ५० हजार नागरिक प्रभावित हुनसक्ने जनाएको छ। दुई लाख ८६ हजार घरधुरीका १२ लाख ५० हजार नागरिक प्रभावित हुने पूर्वानुमान गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै