चिनवाट नेपाली सेनाले किन्ने हतियारमा ठूलो चलखेलको आशंका
नेपाली सेनाले चिनवाट ६ अर्बको हतियार खरिद गर्न लागेको विषयमा केही उच्च अधिकारीहरुले ठूलो आर्थिक चलखेलको आशंका गरेका छन । यसअघि भू–राजनीतिक सन्तुलन राख्ने भन्दै नेपाली सेनाले भारतीय कम्पनी महेन्द्रको चार वटा एपीसी तीन करोड ९८ लाखमा लिएको थियो।
तर उस्तै प्रकृतिको एपीसी किन्दा भारतबाट भन्दा चीनबाट बढी कमिशन आउने भएकाले चीनबाट किन्न लागिएको स्रोतको दाबी छ। कमिशनको लोभमा उच्च राजनीतिक नेतृत्वलाई समेत प्रभावमा पारेर प्रक्रिया मिच्न लागिएको सैनिक स्रोतको दाबी छ। स्रोतले भन्यो, ‘लोकेन्द्र कार्कीको प्रभावमा परेर पहिले नेपाली सेनाले कोरियाबाट ल्याएका धेरै केटु हतियार नचलेपछि पुनः हतियार ल्याउने प्रयास भइरहेको छ।’
चिनियाँ कम्पनीको नेपालस्थित प्रतिनिधि उमेश श्रेष्ठ र रोशन श्रेष्ठको कम्पनीबाट पाएको म्याद बाँकी रहँदै लोकेन्द्रले आफ्नो स्टाफ अनुपमा शाक्य र अर्का नाइडु थरका स्टाफको नामसमेत राखेको सैनिक स्रोतको दाबी छ।
रक्षामन्त्रीको दबाब तथा ठूलो मात्रामा चिनियाँ हतियार खरिद गर्ने भनेपछि चिनियाँ कम्पनीले नेपालस्थित एजेन्ट परिवर्तन गर्न लागेको हो। नोरिङदो कम्पनीका नेपाल प्रतिनिधि उमेश श्रेष्ठले अहिले आफ्नो म्याद रहँदै दबाबमा एजेन्सी खोसिएको भनी खरिदको कमिशन आफैले पाउनुपर्छ भन्दै सैनिक मुख्यालय भद्रकालीमा उजुरी दिएका छन्।
रक्षामन्त्री खड्काको दबाबमा चिनियाँ हतियार कम्पनीको नेपालस्थित प्रतिनिधि फेरबदल गर्ने प्रयास भएको हो। लोकेन्द्र कार्कीले नै प्रधानसेनापति प्रभुराम शर्मा, रक्षामन्त्री खड्कालगायतसँग चिनियाँ हतियार कम्पनीका प्रतिनिधिसँग केही साता अघि मात्र गोप्य मिटिङ गराएको स्रोतको दाबी छ।
कार्की ती व्यक्ति हुन् जसले यस अघिका प्रधानसेनापति पूर्णचन्द्र थापा र राजनीतिक नेतृत्वको सेटिङ मिलाएर फास्ट ट्रयाकमा चिनियाँ कम्पनी पोलिचड्डालाई नेपाल भित्र्याएका थिए। कार्कीले आफ्नै नाममा सरकारको अनुमति बेगर सिंगापुर र दुबईमासमेत कम्पनी खोलेका छन्। ती कम्पनी नेपालबाट रकम बाहिर लैजान र महंगो बनाएर नेपालसम्म भित्र्याउन प्रयोग भइरहेको एक सैनिक अधिकारीले जानकारी दिए।
लोकेन्द्र कार्कीले कमिशनको सेटिङलगायत मिलाउन, खरिद मूल्य बीचमा बढाउन, नेपालमा हुने भुक्तानी आफ्नै विदेशमा रहेको कम्पनीमार्फत गर्दै ठूलो रकम बीचैमा हिनामिना गर्न नेपाल सरकारको स्वीकृति बेगर सिंगापुरमा कम्पनी खोलेको पाइएको छ। लोकेन्द्रले सिंगापुरमा ग्लोबल होल्डीङ नेटवर्क प्रालि नामको कम्पनी सिंगापुरको २० सिसिल स्ट्रीट, १४-०१ इक्वीटी प्लाजामा ०४९७०५ नम्बरको दर्ता रहेको कार्यालयसमेत खोलेका छन्। उक्त कम्पनीको टेलिफोन नम्बर ६५६३२०१८८८ रहेको छ।
पहिलो चरणको खरिद सकिएसँगै पुन ५० वटासम्म एपीसी र अन्य हतियार पनि चीनसंग किन्ने सेनाले प्रतिबद्धता जनाएको छ। भारतले विष्फोटक पदार्थ सहजै नदिएको भन्दै गोप्य रुपमा चीनबाट भित्राउने भनी लोकेन्द्र कार्कीको सक्रियता बढीरहेको बताइएको छ। लोकेन्द्र कार्कीले नेपाली सेनालाई यसअघि नै दक्षिण कोरियाबाट अर्बौं मूल्य बराबरको हतियार खरिद गराउन सफल भएका थिए।
यो पनि पढनुस