चीनबाट हतियार खरिद गर्ने नेपाली सेना प्रति एकता अभियानको ध्यानाकर्षण

नेपाली सेनाले प्रतिस्पर्धात्मक प्रक्रिया बिना नै चीनबाट ६ अर्ब रुपैयाँको हतियार खरिद गर्ने तयारी गरिरहेको भन्दै राष्ट्रिय एकता अभियानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
अभियानले एक प्रेस विज्ञप्ति जारी गर्दै यो निष्पक्ष अभ्यास र पारदर्शिताप्रति बेवास्ता गरिएको प्रष्ट संकेत भएको जनाएको हो । अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले बफादारिता र इमान्दारिताको मूल्य मान्यता राख्ने संस्था मानिने नेपाली सेनाले यस्तो अनैतिक व्यवहार देखाउनु दुःखद भएको बताए ।
उनले भने, ‘हामी नेपाल सरकारलाई यी आरोपहरूको छानबिन गर्न र जिम्मेवार व्यक्तिहरूलाई जवाफदेही बनाउन आग्रह गर्दछौँ । नेपाली सेनाले आफ्नो व्यक्तिगत स्वार्थलाईभन्दा नेपाली नागरिकको सुरक्षा र हितलाई प्राथमिकता दिनुपर्छ । यस्ता कार्यले नेपाली सेनाको प्रतिष्ठामा मात्रै ठेस पुर्याउँदैन, राष्ट्रिय सुरक्षा निकायहरूप्रति नागरिकको विश्वासमा पनि खलल पुग्छ।
एक राष्ट्रको रूपमा, हामी हाम्रो सुरक्षामा सम्झौता गर्न नसकिने विज्ञप्तिमा उल्लेख छ । नेपाली सेनाले इमान्दारिता र पारदर्शिताको उच्चतम मापदण्डलाई कायम राख्दै हाम्रो लोकतन्त्रको मूल्य र सिद्धान्त अनुरूप काम गर्न अभियानले जोड दिएको छ ।
यस्ता आरोपको छानबिन गरी भविष्यमा यस्ता घटना नदोहोरियोस् भनी चाँडो कारबाही गर्न नेपाल सरकारलाई अभियानले आग्रहसमेत गरेको छ ।