लेबनानमा दुई महिनाभन्दा कम समयमा दुई सय भन्दा बढी बालबालिकाको मृत्यु- राष्ट्रसङ्घ
इजरायलले हिजबुल्लाहलाई लक्षित गरी लेबनानमा गरेको आक्रमणमा दुई महिना भन्दा कम समयमा दुई सय भन्दा बढी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घले मङ्गलबार जनाएको छ । यो कहाली लाग्दो घटनाले चिन्ताजनक अवस्था देखा परेको जनाउँदै राष्ट्रसङ्घीय बाल एजेन्सी युनिसेफका प्रवक्ता जेम्स एल्डरले बालबालिकाको मृत्यु र हिंसा रोक्न अत्यावश्यक रहेको बताउनु भएको छ ।
उहाँका अनुसार लेबनानमा पछिल्लो दुई महिनामा हरेक दिन औसतमा तीन जना बालबालिकाको मृत्यु भएको छ भने एक हजार एक सय बढी बालबालिका घाइते भएका छन् । हिज्बुल्लाहले गत वर्षको अक्टोबरमा गाजामा प्यालेस्टिनी उग्रवादी समूह हमासको समर्थनमा इजरायलमा रकेट प्रहार गर्न थालेको थियो ।
गत सेप्टेम्बर देखि, इजरायलले लेबनानमा हिजबुल्लाहको गढलाई लक्षित गर्दै व्यापक अभियान सञ्चालन गरेको छ, यद्यपि केही आक्रमणले इरान समर्थित समूहको नियन्त्रण बाहिरका क्षेत्रहरूमा प्रहार गरेका छन् ।
इजरायलमा हिजबुल्लाहको आक्रमणबाट झडप सुरु भएदेखि लेबनानमा तीन हजार पाँच सय एक जना भन्दा बढी मानिसको मृत्यु भएको छ । गत वर्षको अक्टोबरमा गाजामा युद्ध सुरु भएदेखि लेबनानमा कम्तीमा २३१ बालबालिकाको मृत्यु भएको एल्डरले बताउनु भएको छ ।
लेबनानमा पनि गाजामा जस्तै डरलाग्दो बालबालिकाको नरसंहार चलिरहेको बताउँदै उहाँले घरबारविहीन भएका लाखौँ बालबालिकाहरू आधारभूत पूर्वाधार तथा चिकित्सा सुविधा अभावमा रहेको बताउनु भएको छ । लेबनानी अधिकारीहरूका अनुसार नोभेम्बर-१५ देखि २०० भन्दा बढी स्वास्थ्य कर्मचारीहरूको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन् ।