आइसिसी महिला यु–१९ टी–२० विश्वकपमा नेपाल छनोट
नेपाल आइसिसी महिला यु–१९ टी–२० विश्वकपमा छनोट भएको छ । बुधबार भएको एसिया छनोटको अन्तिम खेलमा घरेलु टोली युएईलाई आठ विकेटले हराउँदै नेपालले अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपमा स्थान बनाएको हो । नेपाल युएईलाई नेट रन रेटका आधारमा पछि पार्दै पहिलो पटक महिला यु–१९ टी–२० विश्वकपमा पुगेको हो । नेपालले ३.९३५३ रन रेट राख्यो । युएईले ३.७४०३ रन रेट बनायो ।
फराकिलो अन्तरसहित जित्नै पर्ने दबाबपूर्ण खेलमा जितका लागि ८४ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १४.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।
जितसँगै ६ खेलबाट १० अङ्क बनाएको नेपाल शीर्षस्थानमा रह्यो । समान १० अङ्क बनाएको युर्एइ रन रेटमा पछि परेको हो । नेपाललाई विश्वकपमा स्थान बनाउन युएईलाई १६.२ ओभरमै हराउनु पर्ने बाध्यता थियो । जसमा नेपाल अगाडि नै सफल भयो । अन्तिम खेलमा आएर घरेलु टोलीले नेपालको दबाब थेग्न सकेन ।
युएई यसअघिका पाँच खेलमा विजयी भएको थियो । युएईले कुवेतलाई १०६ र १८४ रन, थाइल्यान्डलाई ७४ रन र नौ विकेट तथा नेपाललाई १३ रनले हराएको थियो ।
यस्तै यसअघि नेपालले कुवेतलाई १०८ र १६५ तथा थाइल्यान्डलाई ६७ र १०६ रनले हराएको थियो । नेपालले युएईसँग अघिल्लो खेलमा हारेको बदलासमेत लियो ।
नेपालका लागि ओपनर साना प्रविनले ४२ बलमा सर्वाधिक अविजित ३५ रन बनाउनुभयो । यस्तै कप्तान पूजा महतोले २१, सोनी पाख्रीनले अविजित १३ र ओपनर सावित्री धामीले १२ रन बनाउनुभयो । बलिङमा युएईकी मेहाक ठाकुरले दुई विकेट लिनुभयो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ८३ रन बनाएको थियो । युएईका लागि समैरा धरनीधर्काले सर्वाधिक ३१ रन बनाउनुभयो । यस्तै रिनिथा रञ्जिथाले १८ बलमा २० तथा इन्दुजा नन्दकुमारी र लाभन्या केन्याले १०-१० रन बनाउनुभयो ।
बलिङमा नेपालकी कृष्णा गुरुङले चार विकेट लिनुभयो । उहाँले भचार ओभरमा १७ रन खर्चिएर उक्त विकेट लिनुभएको हो । रिया शर्मा र सीमा केसीले दुई दुई र रचनाकुमारी चौधरीले एक विकेट लिनुभयो ।