भारत सरकारको आर्थिक सहयोगमा स्याङ्जास्थित गल्याङ नगर अस्पतालको भवन निर्माण – Nepalboli

भारत सरकारको आर्थिक सहयोगमा स्याङ्जास्थित गल्याङ नगर अस्पतालको भवन निर्माण

   २०८१ कार्तिक १०, शनिबार  

भारत सरकारको नेपाली ४.०१३ करोड आर्थिक सहयोगमा निर्माण गरिएको स्याङ्जाको गल्याङ नगरपालिकास्थित गल्याङ नगर अस्पतालको अस्पताल भवनको शुक्रवार उद्धघाटन गरिएको छ । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत निर्माण गरिएको यो अस्पताल भवनको भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव श्री अविनाश कुमार सिंह, जिल्ला समन्वय समिति, स्याङ्जाका प्रमुख श्री श्रीप्रसाद जिटी र गल्याङ नगरपालिकाका नगर प्रमुख श्री गुरु प्रसाद भट्टराईले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, अस्पताल व्यवस्थापनका प्रतिनिधि, चिकित्सक, मेडिकल स्टाफ सदस्य तथा गल्याङ नगर अस्पतालका अधिकारीको पनि उपस्थिति रहेको थियो । भारत सरकारको अनुदान सहयोग गल्याङ नगर अस्पताललाई आवश्यक अन्य सुविधा, चिकित्सकीय उपकरणको व्यवस्थासँगै अस्पताल भवनको निर्माणमा उपयोग गरिएको थियो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । जिल्ला समन्वय समिति, स्याङ्जामार्फत यो परियोजनाको कार्यान्वयन गरिएको थियो ।

नेपाल सरकारको स्वीकृतिमा स्थानीय जनताले एउटा सानो भाडाको घरमा सन् २०१० मा गल्याङ सामुदायिक अस्पतालको स्थापना गरेका थिए । गल्याङ नगरपालिकाको आर्थिक सहयोग रहेको उक्त अस्पतालको नाम परिवर्तन गरी अहिले गल्याङ नगर अस्पताल राखिएको छ । अस्पतालले स्याङ्जा, पाल्पा, पर्वत र गुल्मी जिल्लाका बासिन्दालाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै