छविको २० दिन म्याद थप, लामीछाने सहित १४ जना विरुद्ध पक्राउ पुर्जी
कास्कीको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा शुक्रबार थप १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ भने छविलाल जोशीविरुद्ध २० दिन म्याद थप भएको छ । सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी) राईका दुई दाइ र एक साढुभाइविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।
देशका विभिन्न ठाउँमा सहकारी स्थापना गरी बचत र अन्य रकम अपचलनमा जिबी मुख्य जिम्मेबार भएको प्रहरी अनुसन्धान र संसदीय छानबिन समितिको निष्कर्ष छ ।
संसदीय छानबिन समितिले लामिछानेलाई समेत कारबाही गर्नुपर्ने यकिन गरेको थियो । समितिको निष्कर्षमा लामिछानेबारे लेखिएको छ, “परिचालन र खर्च प्रक्रियामा सहभागिता देखिएको छ ।” कास्की प्रहरीले शुक्रबारै प्रहरी प्रधान कार्यालयसहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसरलाई पत्राचार गरी लामिछानेलाई पक्राउ गरी कास्की पठाइदिन पत्राचार गरेको छ ।
कास्की जिल्ला अदालतले शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित एकै पटक १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दीपक लामा, अनन्तबाबु राई, रामबहादुर खनाल, देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठविरुद्ध पुर्जी जारी भएको छ ।
अनन्तबाबु जिबीका जेठा दाइ र देवेन्द्रबाबु माइला दाइ हुनुहुन्छ भने दीपक लामा साढु दाइ हुनुहुन्छ । ओखलढुङ्गाको सुनकोशी गाउँपालिका वडा नम्बर २ घर स्थायी घर भए पनि अहिले जिबीको परिवारका कोही पनि गाउँमा छैनन् । सुनकोशी–२ का वडाध्यक्ष प्रकाश सापकोटाले जिबीको परिवारका अहिले कोही पनि गाउँमा नरहेको जानकारी दिनुभयो ।
संसदीय छानबिन समितिको प्रतिवदेन कार्यान्वयन गर्ने सरकारको निर्णयसँगै सूर्यदर्शनको अनुसन्धान अघि बढेको हो । कास्की प्रहरीले सूर्यदर्शन र गोरखा मिडियाका सञ्चालक छविलाल जोशीलाई असोज ६ गते पक्राउ गरेकोमा शुक्रबार २० दिन म्याद थप भएको छ । दसैं बिदाका कारण अदालत बन्द रहेकाले म्याद सकिएको १५ दिनपछि प्रहरीले जोशीलाई शुक्रबार अदालत उपस्थित गराएको हो ।