फैलिदै डेंगु सङ्क्रमण- देशभर १९ हजार जना सङ्क्रमित
देशभर डेंगु सङ्क्रमण तीव्ररुपमा फैलिरहेको छ । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को पछिल्लो तथ्याङ्क अनुसार डेंगु सङ्क्रमितको सङ्ख्या १९ हजार पाँच ९९ पुगेको छ । डेंगु सङ्क्रमणबाट हालसम्म नौ जनाले ज्यान गुमाइसकेका छन् । डेंगु सङ्क्रमण मुलुकका ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ । डेंगु सङ्क्रमण सबैभन्दा बढि काठमाडौँमा फैलिएको छ । काठमाडौँमा डेंगु सङ्क्रमणबाट हालसम्म तीन हजार एक सय तीन जना प्रभावित बनेका छन् ।
यस्तै कास्कीमा दुई हजार आठ सय ४७ जनामा डेंगु सङ्क्रमण देखिएको छ । यस्तै तनहुँमा दुई हजार एक सय सात, पर्वतमा एक हजार पाँच सय ६२, चितवनमा नौ सय ७१, ललितपुरमा आठ सय २७, गोरखामा ५ सय ८८, बाग्लुङमा छ सय १०, भक्तपुरमा तीन सय ५५ तथा स्याङ्जामा तीन सय ३५ जनामा डेंगु सङ्क्रमण पुष्टि भइसकेको महाशाखाले जनाएको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका रिसर्च युनिटका संयोजक तथा सङ्क्रामक रोग विशेषज्ञ डा शेरबहादुर पुन भन्नुहुन्छ, “पोस्ट मनसुन सुरु हुँदा डेंगुको जोखिम बढ्ने सम्भावना हुन्छ । दसैँ लगत्तै अस्पताल आउने डेंगुका बिरामी बढिरहेका छन् । समुदायमा डेंगु सङ्क्रमण फैलिएको देखिन्छ ।”
विसं २०८० को पुस मसान्तसम्म देशभर झण्डै ५२ हजारभन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएकामा २० जनाको मृत्यु भएको थियो । डेंगु एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्याङ्की पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेला झुलको प्रयोग गर्नुपर्छ ।
डेंगु सङ्क्रमणबाट बच्न मुख्यतः लामखुट्टेको टोकाइबाट जोगिनुपर्छ । डा पुन भन्नुहुन्छ, “झूलको प्रयोग गर्नु राम्रो हुन्छ । जटिल लक्षण देखिए स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ ।”
‘जटिल डेंगु’ का पूर्वसङ्केतहरु के-के हुन् :
अधिकांश डेंगु सङ्क्रमितमा सुरुमा ‘फेब्राइल फेज’ देखिने गर्दछ । यसमा मुख्यतयाः टाउको दुख्ने, जीउ दुख्ने, जोर्नी वा मांसपेशीका दुख्ने र खाना खान पटक्कै मन नलाग्ने हुन्छ । त्यस्तै, ज्वरो आउने, आँखाको गेडी दुख्ने वा खस्लाजस्तो हुने, शरीरमा ससाना राता बिमिराहरु देखिने, पखाला लाग्नेजस्ता समस्या पनि देखिने गर्दछ । कतिपयलाई खोकी पनि लागेको देखिन्छ । तर खोकी डेंगुको कारणले हो वा फ्लू भाइरसले गर्दा हो भनेर छुट्याउने गरेको भने देखिँदैन । वास्तवमा हाल फ्लूको सिजन पनि हो भने कोभिडको सङ्क्रमण पनि सँगसँगै देखिएको छ ।
‘फेब्राइल फेज’ औसतमा झन्डै आठदेखि १० दिनमा देखिने गर्दछ । ज्वरो घटेको २४ देखि ४८ घण्टा बिरामीमा ‘जटिल डेङ्गु’ देखिने सक्ने सम्भावना प्रबल रहन्छ । ‘जटिल डेङ्गु’ का पूर्वसङ्केतहरु जस्तै । तारन्तार बान्ता हुनु, असाध्यै पेट दुख्नु, नाक वा गिजाबाट रगत बग्नु, बेचैनी हुनु वा अत्यन्त कमजोर हुनु आदि ।
यस्ता लक्षण वा सङ्केतहरु घरमा सङ्क्रमित भएर बसिरहेको बेला देखिन वा थाहा पाउन सकिन्छ । तसर्थ, यस्ता सङ्केतहरु देखिए तुरुन्त स्वस्थ केन्द्र वा अस्पतालमा जानुपर्दछ । अस्पतालमा जाँच गर्दा थप सङ्केतहरु देखिने गर्दछ । परीक्षणबाट कलेजो आकार बढेको वा सुन्निएको तथा छाती वा पेटमा पानी भए-नभएको थाहा हुन्छ । रगतको जाँच गर्दा प्लेटेलेट्स तीव्र गतिमा घट्नु र हेमाटोकृत बढेको देखन्छ । डेङ्गुको सङ्क्रमण भएको बिरामीलाई कमजोरी अनुभव हुन्छ । डेङ्गु लागेपछि रगतमा प्लेटलेट्सको सङ्ख्या तीव्र रुपमा घट्न थाल्छ । यस्तो अवस्थामा औषधिका साथै खानपान र सही दिनचर्या आवश्यक हुन्छ ।
सन् २०२२ सालमा काठमाडौँमा देखिएको डेंगु प्रकोपले सबैभन्दा धेरै मानिसको ज्यान लिएको थियो । यो प्रकोपलाई कोभिड–१९ को घातक लहरहरुभन्दा खासै फरक महसुस नगरे वा तुलना गरिएको थियो । काठमाडौंका लागि सन् २०१९ पछिको दोस्रो ठूलो प्रकोप (धेरैलाई अस्पताल आउनुपर्ने बाध्यता गराएको कारण) थियो । अनि नेपालको इतिहासमा नै ‘घातक डेंगु’ वर्षका रुपमा मैले सन् २०२२ लाई लिएको थिएँ । यसमा विशेषतः ज्येष्ठ नागरिक अनि दीर्घरोगीहरु जस्तै उच्चरक्त चाप, मधुमेह र श्वास–प्रश्वासको सङ्क्रमण भएका व्यक्तिहरु बढी डेङ्गुको जटिलताबाट मृत्यु भएका थिए ।
मनसुनको समयमा डेंगु सँगसँगै देखिने अरू सङ्क्रामक रोगहरुले डेंगु लक्षणलाई थप जटिल बनाउन सहयोगी भूमिका खेल्ने विभिन्न अध्ययनहरुको नतिजाले देखाएको छ ।
नेपालमा डेंगु सँगसँगै चिकुनगुनिया भाइरस, स्क्रब टाइफस, फ्लूजस्ता थप सङ्क्रमणहरु फैलने गर्दछ । यसर्थ, ज्येष्ठ नागरिक, सह–सङ्क्रमित वा उच्च रक्तचाप, मधुमेह र श्वास–प्रश्वास (दीर्घ वा हालै सङ्क्रमित भएको अवस्था) समस्या भएका व्यक्तिहरूले ‘जटिल डेंगु’ का पूर्वसङ्केतलाई कुर्नै वा देखिनु नै पर्छ भन्ने छैन । यस्तो अवस्थामा चिकित्सकको निरन्तर सम्पर्कमा रही आफ्नो स्वास्थ अवस्थाका बारेमा जानकारी लिनु अति बुद्धिमानी हुनेछ ।
डेंगुबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाइबाट बच्नु नै हो । किनभने यसको टोकाइ एवं सङ्क्रमण निकै घातक हुन सक्छ ।
दसैँ अगाडि डेङ्गुले गति लिँदै गइरहेको अवस्था थियो । दसैँलगत्तै अस्पतालमा जाँदा डेङ्गु पुष्टि भएका बिरामीहरुको सङ्ख्या अझ बढ्दै गइरहेको पाइएको छ । यसबाट दिनमा नै दर्जनौँ डेङ्गु भाइरस पुष्टि हुने क्रमले निरन्तरता पाइरहेको अवस्था देखिन्छ । हुन त काठमाडौँ मात्र नभई देशका विभिन्न ठाउँहरुमा डेङ्गुले व्यापक प्रभाव पारेको जानकारीहरु आउने क्रम जारी छ । डेङ्गुको यो रफ्तारमा सम्भवतः तत्काल रोकिने सम्भावाना अत्यन्त न्यून देखिन्छ ।
चाखलाग्दो कुरा के छ भने अधिकांश डेंगु सङ्क्रमितहरु लक्षण लिएर घरघरमा बसिरहेको वा कार्यक्षेत्रमा निरन्तर खटिरहेका देखिन्छन् । अझै भनौँ धेरै मानिस ‘वाकिङ डेंगु’को अवस्थामा रहेको देखिन्छ । ‘वाकिङ डेंगु’ भन्नाले डेंगु सङ्क्रमित भई निरन्तर आफ्नो दैनिकीलाई निरन्तरता दिइरहेको अवस्थालाई भन्न खोजेको हो ।
चाडपर्वमा मान्छेहरु यसको लक्षणलाई बेवास्ता गर्दै आउजाउ, भेटघाट गरिरहेका छन् । किनभने डेंगुको सामान्य लक्षण आम समस्यासँग मिल्दोजुल्दो हुन्छ । यस्तो अवस्थामा मान्छेहरु सामान्य समस्या ठानेर आफूखुसी औषधीसमेत खाँदै हिँडडुल गरिरहेका हुन्छन् । जब समस्या जटिल बन्दैन, तबसम्म उनीहरु अस्पताल पुग्दैनन् ।
अधिकांशलाई डेङ्गुको लक्षण देखिएको ८–१० दिनमा स्वास्थ्यमा सुधारोन्मुख देखिन्छ भने केहीमा डेंगुले जटिल अवस्था सिर्जना गर्न सक्दछ । तसर्थ ‘जटिल डेंगु’ का पूर्वसङ्केतहरु सङ्क्रमितले थाहा पाउन अति आवश्यक देखिन्छ र सो देखिए तुरुन्त चिकित्सकसँग सम्पर्क गर्न सक्छन् ।
हाल डेंगु सङ्क्रमणको लहर रोक्न विभिन्न कारणले गर्दा चुनौती रहेको भए तापनि ‘जटिल डेंगु’ का पूर्वसङ्केतलाई ध्यान दिनसक्ने हो भने डेंगुबाट हुनसक्ने मृत्युदरलाई उल्लेखनीय सङ्ख्यामा कम गर्न सकिन्छ । हालसम्म रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा सामाजिक सञ्जालहरुमा डेंगु के हो, कसरी सर्छ र यसका लक्षणहरुका बारेमा जानकारीहरु दिने गरेको देखिए तापनि अबको प्रचारप्रसार तथा जानकारीहरु ‘जटिल डेंगु’ का पूर्वसङ्केतका बारेमा केन्द्रित हुनुपर्ने देखिन्छ ।
यसबाट डेंगुबाट हुने मृत्युदरलाई उल्लेखनीय रुपमा कम गर्न सकिनेछ । यो नै अहिलेको प्रमुख आवश्यकता र सघन माग पनि हो ।