सूचना प्रविधि हब प्राथमिकतामा
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य राखेको बताउनुभएको छ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयमा आयोजित दोस्रो पारा–हिमालय सञ्चार तथा सामाजिक विकास सङ्गोष्ठीको बुधबार उद्घाटन गर्दै उहाँले डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत डिजिटल सार्वजनिक पूर्वाधार निर्माण गर्ने लक्ष्य राखेको बताउनुभएको हो ।
“दिगो विकास लक्ष्यको सफल कार्यान्वयनका लागि डिजिटल सार्वजनिक पूर्वाधारलाई प्राथमिकता दिनु पर्छ र सरकारको नीति तथा कार्यव्रmम पनि त्यही दिशामा अघि बढ्नु पर्छ,” उहाँले भन्नुभयो । उहाँले सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटमा उल्लेख भएबमोजिम ललितपुरको खुमलटारमा सूचना प्रविधि हब र ज्ञान पार्क स्थापनालाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।
“ललितपुरमा स्थापना हुने सूचना प्रविधि हब र ज्ञान पार्क सूचना प्रविधि दशक कार्यान्वयनका लागि आधारभूत स्तम्भ हुने छन्, सरकार विस्तृत कार्यान्वयन योजना बनाउने प्रव्रिmयामा छ,” मन्त्री गुरुङले भन्नुभयो । नेपालले डिजिटल पूर्वाधार सुधार गर्न महìवपूर्ण प्रयास गरेको उल्लेख गर्दै उहाँले दूरसञ्चार सञ्जालको विस्तार, मोबाइल उपकरण र इन्टरनेट तथा डिजिटल प्लेटफर्मको बढ्दो प्रयोगले सञ्चार र सूचनामा नागरिकको पहुँच सुनिश्चित गर्न मद्दत गर्ने बताउनुभयो ।
मन्त्रालयले विद्यमान नीति, कानुन र संरचनामा नयाँ तर्जुमा र आमूल परिवर्तनलाई प्राथमिकता दिएको बताउँदै मन्त्री गुरुङले सूचना प्रविधि तथा साइबर सुरक्षा ऐनको मस्यौदा सरोकारवालाको सहमतिका लागि मन्त्रालयमा पठाइएको जानकारी दिनुभयो । उहाँले मन्त्रालयले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० तर्जुमा गरी राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरेको, सामाजिक सञ्जाल सञ्चालन तथा व्यवस्थापन निर्देशिका कार्यान्वयनमा रहेको बताउनुभयो । उहाँले सामाजिक सञ्जालको सुरक्षित र जिम्मेवारीपूर्ण प्रयोगका लागि सामाजिक सञ्जाल नियमन विधेयक तयार भइरहेको बताउनुभयो ।
“मन्त्रालयले नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमत्ता) को प्रयोग र अभ्याससम्बन्धी अवधारणापत्र प्रकाशित गरेको छ, राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणाली र नागरिक एपको एकीकरण जनतामा ई सेवाको राम्रो पहुँचका लागि सरकारको उच्च प्राथमिकता रहेको छ,” उहाँले भन्नुभयो ।
काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले सूचना प्रविधिले निम्त्याउने चुनौतीलाई कसरी अवसरमा बदल्ने भन्ने आजको प्रमुख बहसको विषय रहेको बताउनुभयो ।युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एन्ड टेक्नोलाजी अफ चाइनाका कुलपति जान सुनले डिजिटल प्रविधि तथा सञ्चारको व्यापकताबारे र सोही संस्थाको स्कुल अफल पब्लिक एड्मिनिस्टे«सनका भाइस डिन प्राध्यापक हु जुनले दोस्रो परा–हिमालय सञ्चार तथा सामाजिक विकासको महìवबारे चर्चा गर्नुभएको थियो ।
सङ्गोष्ठीमा नेपाल, चीन, भारत, भुटान, पाकिस्तान, संयुक्त राज्य अमेरिकालगायतका मुलुकका प्राज्ञिक व्यक्तिहरूको सहभागिता रहेको छ । तीन दिनसम्म चल्ने सङ्गोष्ठीमा करिब एक सय वटा विभिन्न विषयको कार्यपत्र प्रस्तुत हुने काठमाडौँ विश्वविद्यालयले जनाएको छ ।