सरकारले गर्यो चार हजार ३३१ जनाको उद्धार, २२४ जनाको मृत्यु र २४ बेपत्ता
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहलमा चार हजार ३३१ जनाको बाढीपहिरो र डुबानमा परेकालाई उद्धार गरेको बताउनुभएको छ। मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो। उहाँले सरकारले केही गरेर भन्नु भन्दा पनि उद्धारमा गरेको पहललाई प्राथमिकता दिएर हेर्न अनुरोधसमेत गर्नुभयो।प्रधानमन्त्री ओलीका तर्फबाट मुख्यसचिव एकनारायण अर्यालले पत्रकार सम्मेलनमा प्रस्तुत गर्नुभएको विज्ञप्तिमा विपद्का कारण दुई सय २४ को मृत्यु, २४ बेपत्ता र १५८ घाइते तथा उच्च जोखिममा रहेका चार हजार तीन सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइसकिएको उल्लेख छ।
विपद्को घटनाबाट काभ्रेपलान्चोक, ललितपुर, धादिङ, काठमाडौँ, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुरसहित २१ जिल्ला बढी प्रभावित भएका छन् । प्रधानमन्त्री ओलीले यही असोज ११ र १२ गतेको अविरल वर्षा, बाढी, पहिरो र डुबानका पीडितलाई राहत रकम वितरण कार्य प्रारम्भ सुरु भएको तथा खोज, उद्धारको कार्य दुई दिनभित्र गरिसकिने जनाउनुभएको छ ।
प्रधानमन्त्री ओलीले घाइतेको निःशुल्क उपचार गरिने र विपद्पछि फैलनसम्कने सम्भावित रोगको रोगथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको बताउनुभयो।क्षतिग्रस्त भएका खानेपानी, सडक, टेलिफोन, विद्युत आदि सेवा सञ्चालनका लागि प्रक्रिया सुरु गरिएको पनि उहाँले बताउनुभयो।
प्रधानमन्त्री ओलीले बाढीपहिरो र डुबानका कारण जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर सहयोग गर्न सबैमा आह्वान गर्नुभएको छ । ओलीले यो बेलामा जनताले भोगिरहेको पीडालाई साझा राष्ट्रिय पीडा मानेर खोज, उद्धार, राहत र सहयोगमा साथ दिन आह्वान गर्नुभएको हो ।
“यो सरकारको मात्रै होइन, सिङ्गो समाजको दुःखको विषय हो । हामी सबै विपद्का घटनाबाट दुःखी छौँ ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, “कतिपय संरचनागत त्रुटिका कारण पनि क्षतिहरू भएका छन् । आगामी दिनमा संरचना निर्माण गर्दा विपद्को सामना गर्न सक्ने र दीर्घकालीनरुपमा सबल संरचना बनाइनेछ ।”
प्रधानमन्त्री ओलीले सरकारको पूर्व तयारी भन्दा ठुलो मात्रामा विपद् आएकाले उद्धार र खोजमा कमीकमजोरी भएको हुनसक्ने तर आगामी दिनमा त्यस्ता कुराहरूलाई सच्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले राज्य र समाजसँग भएका स्रोत, साधनको सक्दो उपयोग गर्नुपर्ने बताउनुभयो ।
धितोपत्र बोर्डको अध्यक्षको नियुक्तिका सम्बन्धमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले अघिल्लो सरकारका पालामा नियुक्तिको प्रक्रिया सुरु भएको र त्यसमा उठेको अनियमितताका सवाल रोक्न आफूले आग्रह गरेको र आफूलाई कुनै पनि नियुक्तिवापत् कुनै लाभ लिनु आवश्यक नभएको स्पष्ट गर्नुभयो ।
प्रभावितलाई राहत वितरण सुरु
राससका अनुसार, प्रधानमन्त्री ओलीले अविरल वर्षापछि गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूलाई राहत वितरण गर्ने कार्य प्रारम्भ भइसकेको स्पष्ट पार्नुभएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलमा उहाँले विपद्मा परेका नागरिकको खोज एवं उद्धार कार्य दुई दिनभित्र गरिसकिने बताउनुभयो ।
घाइतेहरूको निःशुल्क उपचार र विपद्पछि आउन सक्ने जनस्वास्थ्यका समस्या रोगथाम र नियन्त्रणका लागि आवश्यक प्रबन्ध गरिएको प्रधानमन्त्री ओलीले स्पष्ट पार्नुभयो । उहाँले क्षतिग्रस्त खानेपानी, सडक, टेलिफोन, विद्युत्लगायत आधारभूत सेवा सञ्चालनका लागि सरकार सक्रिय रहेको बताउनुभयो ।
सो अवसरमा विपद्का कारण २२४ को मृत्यु भएको, २४ बेपत्ता रहेको र १५८ घाइते रहेको तथा उच्च जोखिममा रहेका चार हजार तीन सय ३१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पठाइसकिएको जानकारी दिइयो ।