झ्याप्ले खोलामा सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए – Nepalboli

झ्याप्ले खोलामा सडक खुलेयता १७ सय सवारी काठमाडौँ भित्रिए

   १४ आश्विन २०८१, सोमबार  

पृथ्वी राजमार्गअन्तर्गत धादिङको झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि राजमार्गमा अलपत्र परेका एक हजार सात सय सवारीसाधन काठमाडौँ उपत्यका भित्रिएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले झ्याप्लेमा अवरुद्ध सडक खुलेपछि अलपत्र यात्रुहरूसहित सवारीसाधन काठमाडौँ भित्रिएको जानकारी दिनुभयो । उहाँले सोमबार दिउँसोदेखि काठमाडौँबाट सो मार्ग हुँदै बाहिरिने सवारी साधन पठाउने तयारी भइरहेको जानकारी दिनुभयो ।

“आजदेखि काठमाडौँ उपत्यकाबाट पनि पृथ्वी राजमार्ग हुँदै सवारी साधन बाहिरिने छन्”, उहाँले भन्नुभयो, “मुख्य राजमार्गका साथै अन्य अवरुद्ध सडक सञ्चालनका लागि गृह मन्त्रालयले अन्य निकायसँग समन्वय गरेर अघि बढेको छ ।”

आजै दिउँसो गृहमन्त्री रमेश लेखकले मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक बोलाउनुभएको थियो । बैठकमा सुरक्षा निकायका प्रमुखहरूले बाढीपहिरो, डुबान तथा विपदमा भइरहेको उद्धार, राहत, घाइतेको उपचार र अवरुद्ध सडक खुलाउने विषयमा भइरहेको जानकारी गराउनुभएको थियो ।

“आज साँझसम्म काभ्रेपलान्चोकको बिपी राजमार्गअन्तर्गत रोशी खोलामा अलपत्र परेका सबै यात्रुहरूको उद्धार भइसक्छ”, प्रवक्ता तिवारीले भन्नुभयो, “अहिले त्यहाँ नेपाली सेनासहित सुरक्षाकर्मीको टोली हवाई उद्धारदेखि डोरीको सहायताबाट समेत अलपत्र यात्रुहरूको उद्धार गरिरहेको छ ।”

प्रवक्ता तिवारीले मौसम पूर्ण रूपमा सामान्य बनिसकेको अवस्था रहेकाले यात्रा गर्दा सचेत रहन अपिल गर्नुभएको छ । “अवरुद्ध सडक खुल्ने र खुलाउने क्रम जारी छ”, उहाँले भन्नुभयो, “अझै पहिरोलगायत जोखिम टरिसकेको छैन ।”

अवरुद्ध सडक सञ्चालन गर्न सरोकारवाला निकायका साथै मुलुकका विभिन्न स्थानमा सुरक्षाकर्मीको टोली समेत परिचालन भएको जनाइएको छ । “रोशी गाउँपालिकालगायत प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै राहत वितरण पनि हुँदैछ”, प्रवक्ता तिवारीले भन्नुभयो, “घाइतेहरूको उद्धार र उपचार निःशुल्क भइरहेको छ ।”

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै