नयाँ युगको सुरुवात माओवादीले नै गरेको हो- अध्यक्ष प्रचण्ड – Nepalboli

नयाँ युगको सुरुवात माओवादीले नै गरेको हो- अध्यक्ष प्रचण्ड

   २०८१ आश्विन १०, बिहीबार  

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक व्यवस्था स्थापना र पूर्वाधार निर्माण लगायत सबै हिसाबले माओवादीले नै नेपालमा नयाँ युगको सुरुवात गरेको बताउनुभएको छ। अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाँले प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नयाँ समाजवादी क्रान्तिको नेतृत्व माओवादीले गर्ने बताउनुभएको हो।

‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिक प्रतिनिधित्वसहितको राज्य व्यवस्था नेपालमा माओवादीकै कारण स्थापित भएको हो भन्ने ऐतिहासिक तथ्यलाई अब कसैले अस्वीकार गर्न सक्ने अवस्था छैन’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, संविधान सभाबाट संविधान निर्माण र त्यसमा आम सहमति जुटाएर कार्यान्वयन गर्ने काम मात्र होइन, माओवादीले सरकारको नेतृत्व गर्ने अवसर पाएको बेलामा सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि र पूर्वाधार निर्माणका क्षेत्रमा पनि ऐतिहासिक भूमिका निर्वाह गरेकाले नयाँ युगको सुरुवात माओवादीले गरेको हो भन्ने तथ्य हाम्रो गौरवपूर्ण सम्पत्ति बनेको छ। ’

उहाँले माओवादीले सरकारको नेतृत्व गरेको बेलामा गरेका महत्त्वपूर्ण कामको चर्चा गर्दै यसलाई आम जनतामा स्थापित गर्नुपर्ने बताउनुभयो। अध्यक्ष प्रचण्डले आफूले दोस्रोपटक सरकारको नेतृत्व गर्दा जनार्दन शर्मालाई ऊर्जामन्त्री र कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाएर नेपाली जनतालाई लोडसेडिङको कालरात्रिबाट मुक्त गरेको उहाँले प्रष्ट पार्नुभयो।

आफूले सरकारको नेतृत्व गरेको तेस्रो कार्यकाल सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका हिसाबले ऐतहासिक भएको उल्लेख गर्दै भ्रष्टाचारविरुद्ध थालेको अभियानकै कारण सरकार छाड्नुपर्नेसम्मको अवस्था आएको बताउनुभयो।

उहाँले पछिल्लो सरकारको नेतृत्व गर्दै शैक्षिक क्षेत्रमा पनि धेरै सुधारका काम थालिएको बताउनुभयो। त्रिविमा मेरिटोक्रेसी लागू गर्ने, वर्षौदेखि लुकाएर राखिएको उच्च शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने र संघीय शिक्षा ऐन सदनमा पुर्याउने काम आफ्नो नेतृत्वको सरकारले नै गरेको स्पष्ट गर्नुभयो।

अध्यक्ष प्रचण्डले पार्टी पुनर्निर्माणको महाअभियान सुरु गरिएको र यसका लागि विद्यार्थीसँग ठुलो अपेक्षा राखिएको उल्लेख गर्दै पार्टीको केन्द्रीय समितिको बैठकअघि हुने विद्यार्थीको राष्ट्रिय सम्मेलन पार्टीका लागि उर्जा हुने बताउनुभयो।

उहाँले इकाईदेखि प्रदेश सम्मेलनसम्म विद्यार्थीले देखाएको लगाव र अपनाएको विधिको प्रशंसा गर्दै अब राष्ट्रिय सम्मेलनलाई ऊर्जाको अवसरको रुपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो। उहाँले विधिमा जाने भएपछि जो जितेर आउँछ उही संगठनको नेता हुने भएकाले कोही कसैले गुटबन्दी गर्न जरुरी नरहेको र कुनै खालको गुटबन्दी नगर्न विद्यार्थीलाई निर्देशन दिनुभयो।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै