उपलब्धि कमजोर पार्न खोजे संविधान संशोधन मान्य हुँदैन- पूर्वमन्त्री शर्मा
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव, पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले गणतन्त्रका उपलब्धि कमजोर बनाएर संविधान संशोधन गर्न खोजे मान्य नहुने बताउनुभएको छ। उहाँले राष्ट्रिय एजेण्डामा एकमत भएर राष्ट्रियता, समावेशीता लगायतका विषय थप बलियो बनाउन संविधान संशोधन गर्न सकिने बताउनुभएको छ।
राप्ती राजमार्ग अन्तर्गत रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१ र बाँफिकोट गाउँपालिका–१० जोड्ने गाराघाट पुल उद्घाटन गर्नुहुँदै शर्माले सत्तारुढ दलहरुले केन्द्रमा संविधान संशोधनको कुरा उठाएकोले यसलाई सकारात्मक रुपमा लिएको समेत बताउनुभयो।
माओवादी केन्द्र उपमहासचिव शर्माले यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सुरु गरेका भ्रष्टाचार विरोधी कार्यहरु वर्तमान सरकारले निरन्तरता दिएर मुलुकमा सुशासनको प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिनुभयो।
पूर्वमन्त्री शर्माले ढिलै भए पनि गाराघाटमा निर्माण भएको पुलले विकास र सहज यातायात पहुँचमा टेवा पुग्ने बताउनुभयो। उहाँले यस क्षेत्रका जनताको आर्थिक विकासका गतिविधिहरुलाई राप्ती राजमार्गले सहज बनाउने र यसको लाभ सबैले लिन सक्नुपर्ने उल्लेख गर्नुभयो। जिल्लामा आएको बजेट फिर्ता गर्न नहुने तर गुणस्तरिय विकासमा लागिपर्नेमा उहाँले जोड दिनुभयो। पुलबाट मान्छेको मात्रै आवातजावत नभएर यहाँ उत्पादित कृषि उपज निर्यात गरेर आर्थिक समृद्धि हाँसिल गर्न सक्नुपर्ने शर्माले बताउनुभयो।