मुख्यमन्त्री कार्कीलाई विश्वासको मत – Nepalboli

मुख्यमन्त्री कार्कीलाई विश्वासको मत

   २ आश्विन २०८१, बुधबार  

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्नु भएको छ । प्रदेश सभाको बुधबारको बैठकमा मुख्यमन्त्री कार्कीले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६६ र विपक्षमा १५ मत परेको थियो । प्रदेशसभाको ९३ सदस्यमध्ये ८३ जना बैठकमा उपस्थित हुनुहुन्थ्यो । विश्वासको मत प्रक्रियामा दुई प्रदेश सभा सदस्य तटस्थ रहनुभएको र बाँकी अनुपस्थित रहनुभएको सभामुख अम्बरबहादुर विष्टले जानकारी दिनुभयो ।

नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि कार्कीले दोस्रो पटक विश्वासको मत लिनुभएको हो । माओवादीले गत भदौ १४ गते समर्थन फिर्ता लिएको थियो । सत्ता गठबन्धन परिवर्तन भएपछि कोशी प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकारमा कांग्रेस सहभागी भएको छ । कोशी प्रदेशसभामा नेकपा एमालेका ४०, कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका छ, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एक सदस्य छन् ।

गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त हुनुभएका कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिनुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै