भारत सरकारको आर्थिक सहयोगमा निर्माण भएको विद्यालय भवनको भक्तपुरमा उद्घाटन
‘नेपाल–भारत विकास सहकायर्’ अन्तर्गत भारत सरकारको नेरु १.१३ करोड आर्थिक सहयोगमा निर्माण गरिएको भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयको विद्यालय भवनको आज उद्घाटन गरिएको छ । भक्तपुर क्षेत्र नं २, प्रतिनिधि सभाका माननीय सांसद दुर्लभ थापा क्षेत्री, जिल्ला समन्वय समितिका प्रमुख श्री ईश्वर बहादुर थापा, सूर्यविनायक नगरपालिकाका उप–प्रमुख श्रीमती सरिता तिमसिना (भट्टराई) र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव श्री अविनाश कुमार सिंहले संयुक्त रुपमा उक्त भवनको उद्घाटन गर्नुभयो । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षकरशिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो ।
‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयलाई आवश्यक अन्य सुविधासँगै तीन तल्ले विद्यालय भवनको निर्माणमा उपयोग गरिएको थियो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको थियो । जिल्ला समन्वय समिति, भक्तपुरमार्फत यो परियोजनाको कार्यान्वयन गरिएको थियो ।
प्रतिनिधि सभाका माननीय सांसद, जिल्ला समन्वय समितिका प्रमुख, सूर्यविनायक नगरपालिकाका प्रमुख, उप–प्रमुख, राजनीतिक प्रतिनिधि र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले आ–आफ्नो मन्तव्यमा प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उत्थानका लागि भारत सरकारले पुर्याउँदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गर्नुभएको थियो ।
सन् १९५२ मा प्राथमिक विद्यालयको रुपमा श्री महेन्द्र शान्ति माध्यमिक विद्यालयको स्थापना भएको थियो जुन सन् १९९५ मा माध्यमिक तहमा स्तरोन्नत भएको थियो । यो विद्यालय जिल्लाकै पुरानो विद्यालय मध्येको एक हो । नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुने यस विद्यालयमा कुल विद्यार्थी संख्या करिब ८०० जना छन् जसमध्ये ४५५ छात्राहरु रहेका छन् ।
