संवैधानिक परिषद् बैठकद्धारा प्रकाशमानसिंह राउत प्रधानन्यायाधीशमा सिफारिस
संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउतलाई सिफारिस गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सोमबार बालुवाटारमा बसेको परिषद्को बैठकले सर्वसम्मतरूपमा राउतलाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
बैठकमा परिषद्का सदस्यका रूपमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र उपसभामुख इन्दिरा राना सहभागी थिए। न्याय परिषद्ले यही भदौ २० गते नै प्रधानन्यायाधीशका लागि योग्यता पुगेका ८ न्यायाधीशको नाम पठाएको थियो। तीमध्ये वरिष्ठतामा सबैभन्दा अगाडि रहेका राउतको नाम संवैधानिक परिषद्ले छानेको हो।
अब संसदीय सुनुवाइबाट अनुमोदन भएमा राष्ट्रपतिले राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन्। हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आगामी असोज २० गतेबाट उमेर हदको कारण अवकाश पाउँदैछन्। त्यसपछि न्यायपालिकाको नेतृत्व राउतले सम्हाल्ने गरी संवैधानिक परिषद्ले सिफारिस गरेको हो।