विपक्षीको अवरोधपछि संसद् बैठक आइतबारसम्मका लागि स्थगित – Nepalboli

विपक्षीको अवरोधपछि संसद् बैठक आइतबारसम्मका लागि स्थगित

   २६ भाद्र २०८१, बुधबार  

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी) केन्द्रका सांसदले अवरोध गरेपछि बुधबारको प्रतिनिधि सभाको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको छ। सभामुख देवराज घिमिरेले सत्तापक्ष र विपक्षी दलको सांसदको दोहोरोमा बैठक सञ्चालन हुन नसक्ने जानकारी गराउनुहुँदै बैठक आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको घोषणा गर्नुभएको हो।

भाद्र १२ गते प्रतिनिधि सभा बैठकमा एमाले सांसद योगेशकुमार भट्टराईले बोलेको हिंसा भन्ने शब्द असंसदीय नदेखिएको भन्दै संसद्को अभिलेखबाट नहट्ने निर्णय सभामुखले सुनाउनुभएपछि माओवादी सांसदले बैठकमा विरोध गरेका हुन्।

बुधबारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम २१ मा भएको व्यवस्था र मिति २०८१ भाद्र १८ गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको छलफल र सचिवालयको राय समेतका आधारमा सो शब्द असंसदीय शब्द नदेखिएको बताउनुभयो। उहाँले सो शब्द संसद्को अभिलेखबाट हटाउनु नपर्ने बताउनुभयो।

उहाँले पछिल्लो समय प्रतिकात्मक शब्द प्रयोग गर्दा पनि नियमापत्ति गर्ने र शब्दमा बहस हुने गरेको भन्दै सांसदहरूलाई संसदमा प्रस्तुत हुँदा शब्द चयनमा सचेत रहन रुलिङ गर्नुभयो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै