नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह – Nepalboli

नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह

   २०८१ भाद्र २२, शनिबार  

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सहजरुपमा सेवा दिँदै नेपाललाई ‘नन् करप्ट’ राष्ट्रको पहिचान दिन निजामती कर्मचारीहरूलाई आग्रह गर्नुभएको छ । शनिबार २१ औँ निजामती सेवा दिवसका अवसरमा सिंहदरबारमा आयोजित मूल समारोह समितिको कार्यक्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार गर्नु भनेको देशभरका जनताको एकैपटक पकेट मारे सरह हुने भएकाले त्यस्तो दुष्कर्ममा संलग्न नहुन आग्रह गर्नुभयो ।

“तपाईँहरू कतै प्रयोग नहुनुस् । भ्रष्टाचार जस्तो पाप र दुष्कर्ममा सहभागी नहुनुस् । तपाईँहरूलाई प्रयोग नगरी नेताहरूले पनि भ्रष्टाचार गर्न सक्दैनन् । भ्रष्टाचार गर्ने नेताहरूको रेकर्ड राख्नुस् । भाषणमा एउटा र व्यवहारमा अर्को काम गर्ने नेताहरूले ठुला कुरा गर्दा अरू केही गर्न नसके पनि चिन्या छु भनेर मुसुक्क हाँसिदिनुस् ।’’, प्रधानमन्त्री ओलीले भन्नुभयो, “म चुनौती दिएर भन्छु– म आफू पनि भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिइन्नँ । नेपाललाई हरेक हिसाबले समृद्ध बनाउन हामी सबैले आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ ।’’

राज्यबाट जनतालाई दिइने सेवामा कुनै कारणले विलम्ब र आलटाल नगर्न निर्देश गर्दै प्रधानमन्त्री ओलीले जनतालाई दुःख नदिई सकारात्मक अनुभूति दिएर हाम्रा छोराछोरीलाई देशभित्र बस्न लायक बनाउनु सबैको दायित्व भएको बताउनुभयो । उहाँले नेपाली संस्कारभित्र सेवा र पवित्रताको भाव रहेकाले संविधान र कानुनका व्यवस्थाका साथै इमान, कर्तव्य र नैतिकताको बन्धनलाई ध्यानमा राखेर काम गर्न आग्रह गर्नुभयो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै