तिजको रौनक- पशुपतिनाथको तीन लाख व्रतालुले गरे दर्शन – Nepalboli

तिजको रौनक- पशुपतिनाथको तीन लाख व्रतालुले गरे दर्शन

   २०८१ भाद्र २१, शुक्रबार  

हरितालिका तिज पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा आराधना गर्न आउने भक्तजनको भीड लागेको छ। तिजमा पुरुषलाई प्रवेश निषेध गरिएको पशुपतिनाथ मन्दिरमा तिजको व्रत बसेका दिदीबहिनीको भीड लागेको हो।पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाका अनुसार बिहीबार साँझदेखि नै सम्पूर्ण भक्तजन र श्रद्धालुका लागि पशुपतिनाथ मन्दिर दर्शनमा सहजीकरण गर्न थालिएको हो। शुक्रबार बिहानैदेखि आउने ब्रतालुको व्यवस्थापन राम्रो भइरहेको उहाँको भनाइ छ।

कोषका प्रवक्ता रेवतीरमण अधिकारीका अनुसार गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, रुद्रगाडेश्वर, बासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूल ढोकाबाट बाहिरी निस्किएर कैलाश दक्षिण जुत्ता–चप्पल कक्षबाट जुत्ता–चप्पल लिई फर्कने व्यवस्था मिलाइएको छ।

मित्रपार्क, जयवागेश्वरी–गौशाला–भुवनेश्वरी–शङ्कराचार्यमठ दक्षिण हुँदै फलामेपुल–पश्चिम सानो ढोकाबाट मन्दिर प्राङ्गण प्रवेश गरी पश्चिम मूलढोका हुँदै बाहिरिने र शङ्कराचार्यमठ दक्षिण जुत्ता–चप्पल कक्षबाट जुत्ता–चप्पल लिई फर्कने व्यवस्था व्यवस्था मिलाइएको जानकारी दिनुभयो।

तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा करिब तीन लाख भक्तजनले दर्शन एवं पूजा आराधना गरेका छन् । आज चार बजेसम्म करिब तीन लाख भक्तजनले मूल मन्दिरभित्र प्रवेश गरी दर्शन गरेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । पशुपतिनाथको दर्शनका लागि अझै धेरै व्रतालु लामो लाममा बसेका छन् । व्रतालु लाममा बसेसम्म आज दर्शन गर्न दिइने कोषले जनाएको छ ।

पर्वका अवसरमा मूल मन्दिरभित्र करिब ६ सय महिला प्रहरीमात्र खटाइएको जनाइएको छ ।

 

 

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै