पार्टी फुट्ने कुरा वाहियात हो- प्रचण्ड – Nepalboli

पार्टी फुट्ने कुरा वाहियात हो- प्रचण्ड

   २०८१ भाद्र १३, बिहीबार  

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्र फुट्ने कुरा वाहियात रहेको बताउनुभएको छ । धनगढीमा आज आयोजित पत्रकार सम्मेलनका उहाँले आफ्नो पार्टी एकताबद्ध रहेको र आगामी दिनमा पनि एकताबद्ध नै रहने उल्लेख गर्नुभयो ।

पार्टी फुट्ने कुरा निराधार रहेको निर्णयसहित स्थायी कमिटी बैठकले यसलाई खारेज गरिसकेको प्रचण्डको भनाइ थियो । उहाँले भन्नुभयो,“अहिले माओवादी पार्टी एकताबद्ध मात्रै नभई बाहिर रहेको सबै माओवादी, समाजवादी मोर्चा र अन्य क्रान्तिकारीसँग पनि एउटै पार्टी बनाउने बारे छलफल चलाइ रहेको छ ।” माओवादी केन्द्र अझ सशक्त ढङ्गले अगाडि बढ्ने उहाँको भनाइ छ ।

अध्यक्ष प्रचण्डले पार्टी नेतृत्व परिवर्तनको कुरा पनि कसैले नगरेको जिकिर गर्नु भएको छ । नेतृत्व परिवर्तनको भ्रममा नपर्न आग्रह गर्दै उहाँले थप्नुभयो,“त्यसैले मैले भन्ने गरेको छु, टेन्सन हामीलाई होइन । टेन्सन बाहिर पत्रकारहरूलाई भएको छ ।”

जनार्दन शर्मा ‘प्रभाकर’ लाई लिएर नेतृत्व परिवर्तनको विषयबारे पत्रकारले जिज्ञासा राख्ने गरेको भन्दै प्रचण्डले थप्नुभयो,“प्रभाकरले त नेतृत्वलाई अझ माथि लानु पर्‍यो पो भन्नु भएको छ ।”

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै