संसदीय समितिमा सांसदको प्रस्ताव- नेपाल वायुसेवा निगमलाई निजीकरण गरौँ – Nepalboli

संसदीय समितिमा सांसदको प्रस्ताव- नेपाल वायुसेवा निगमलाई निजीकरण गरौँ

   २०८१ भाद्र १३, बिहीबार  

संसदीय समितिमा सांसदहरूले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्नुपर्ने प्रस्ताव राखेका छन् । बिहीबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्नुहुँदै नेकपा (एमाले) का सांसद देवीप्रकाश भट्टचन र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति शमशेर जबराले यस्तो प्रस्ताव राख्नुभएको हो । सांसदहरूले सरकारले वायुसेवा निगम चलाउन नसकेको भन्दै निजीकरण गर्नुपर्ने प्रस्ताव समितिमा राख्नुभयो ।

उहाँहरूले निगम आर्थिक रूपमा कमजोर बन्दै गएको र निगमले जहाज सञ्चालन गर्नसक्ने अवस्था नभएको भन्दै निजीकरण गर्नुपर्ने प्रस्ताव गर्नुभयो । भारत जस्तो ठुलो देशमा एयरइण्डिया निजी कम्पनीले सञ्चालन गरेको उदाहरण दिँदै नेपालमा पनि त्यही मोडलमा जाँदा केही समस्या नहुने सांसदहरूको धारणा थियो ।

सांसदहरूले नेपाल वायुसेवा निगम सुधारको एउटा मात्रै विकल्प निजीकरण वा निजी क्षेत्रलाई सञ्चालनको जिम्मा दिनुपर्ने बताए । सांसदहरूले निजी कम्पनीका जहाजहरू अहिलेसम्म ग्राउण्डेड भएका समाचारहरू सुन्न नपर्ने तर नेपाल वायुसेवा निगमका चार वटा जहाजमा ३ ग्राउण्डेड भनेर सधैँ सुन्नुपर्ने अवस्था रहेको बताए ।

उनीहरूले एउटा जहाज एक महिनाभित्र सी चेक भएर नेपाल आउनुपर्ने भए पनि चार पाँच महिनासम्म आउन नसक्नुको निगम अध्यक्षसँग कारण माग गरे । नेकपा एमालेका सांसद देवीप्रकाश भट्टचनले निगमले हवाई जहाज चलाउन नसकेको दाबी गर्नुभयो । उहाँले भारतमा पनि एयर इण्डियाले चलाउन नसक्दा टाटा एयरलाइन्सले सञ्चालन गरेको उदाहरण रहेको भन्दै त्यही मोडलमा नेपाल जान आवश्यक रहेको औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘निगमले हवाई जहाज चलाउन नसकेको भन्ने लाग्छ । भारतमा पनि टाटा एयरलाइन्स चलाउन नक्दा एयर इन्डियाको रूपमा आयो । तर २०२२ पछि टाटा एयरलाइन्सकै व्यवस्थापनमा सुरु भइरहेको छ । सरकारले चलाउन नसक्ने भए सरकारले प्रक्रियागत रूपमा २०२२ मा १४७ वटा जहाज सहित एयर इन्डियाको जिम्मा लिएको उदाहरण छ । नेपाल वायुसेवा निगम सरकारले चलाउँदा चल्न नसकेको स्पष्ट देखिएको छ ।’’

उहाँले सरकारले चलाउन नसक्ने भए सरकारले प्रक्रियागत रूपमा निजी क्षेत्रलाई दिनुपर्ने बताउनुभयो । उहाँले नेपाल वायुसेवा निगम सरकारले चलाउँदा चल्न नसकेको स्पष्ट देखिएकाले प्राधिकरणको नेतृत्वले निजी क्षेत्रलाई चलाउन दिने प्रस्ताव ल्याउनुपर्ने बताउनुभयो । उहाँले हिमालय एयरलाइन्ससँग चार वटा जहाज रहेको भए पनि त्यसमा अहिलेसम्म समस्या आएको भन्ने सुन्नमा नआएको जिकिर गर्नुभयो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै